‘एपिक नेपाल म्युजिक अवार्ड २०७६’ को आवेदन फारम खुल्यो

‘कला र गला संरक्षण हाम्रो अभियान, अग्रजलाई सम्मान नवलाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजक संस्था एपिक नेपाल म्युजिक प्रा.लि.ले दोश्रो ‘एपिक नेपाल म्युजिक अवार्ड २०७६’ का लागि आवेदन खुला गरेको छ । एपिक नेपाल म्युजिकका अध्यक्ष अमन श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी अवार्डको लागि आवेदन खुला भएको घोषणा गरेका हुन् l

अवार्डका लागि लोकदोहोरी, आधुनिक, पप , लोकपप, काँठे र देउडा गीतका सर्जक, कलाकार र प्राविधिकहरुले फारम भर्न सक्ने कुरा जानकारी प्राप्त भएको छ । आयोजकका अनुसार २०७५ साल जेठ १ गते देखि २०७६ असार मसान्तसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने छन् ।

अवार्डको फाईनल आयोजना राजधानीमा सम्पन्न गरिने छ भने मिति केही दिनमै सार्वजनिक गरिने कुरा बताईएको छ । समारोहमा  नेपाली गीत – सङ्गीत क्षेत्रका एक वरिष्ठ साधकलाई ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यसैगरी नेपाली गीत सङ्गीतको क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई पनि ‘एपिक कला पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिने छ । आवेदन फारम एपिक नेपालको कार्यालय अनामनगरबाट प्राप्त गर्न सकिने कुरा समेत आयोजकले जानकारी गराएका छन् ।