पूर्वेली लोकगीतमा १३ बर्ष पछिको जुगल्बन्दी

 – यादव कुमार भट्टराई

१३ बर्षपछि पूर्बेली लोक गीतमा खगेन्द्र यक्सोले सुनिता सुब्बासँग मीठो र लोभलाग्दो जुगल पुनरागमन गरेका छन् । पूर्बेली गीत सङ्गीतमा मौलिक शब्द कोर्न र मीठो लय बनाउन सिपालु अनि मौलिक स्वर भर्न माहिर मानिएका स्रस्टा एवं गायक खगेन्द्र यक्सोले अग्रज गायिका सुनिता सुब्बासँगको सहकार्यमा जे जति  गीत सुनाए सङ्ख्यात्मक रुप्मा पुग नपुग १५/२० जति होलान् l तर जति छन्, ती सबै सङ्ग्रहणीय, स्मरणीय र प्रशंसनीय छन् l सबै गीत – सङ्गीत प्रेमीहरुको मन मुटुमा बास बसेका छन् l अझ गीतका भाव अनुसारको म्युजिक भिडियोले गर्दा उनका गीत झनै जीवन्त बनेका छन् । 

यसै परिप्रेक्ष्यमा धेरै समय पश्चात् सुनिता सुब्बाको स्वरलाई साथ लिएर खगेन्द्र यक्सो ‘मायाले पर्खी बसेको आ’है बाटो हेरेर’ भन्दै कर्णप्रिय मेलोडी र सुन्दर, मार्मिक म्युजिक भिडियो लिएर दर्शक / स्रोता माझ आएका छन् युट्युब च्यानल Yuma Arts मार्फत । आफ्ना प्रायजसो गीतमा गृह क्षेत्रका वनपाखा, खोला-झरना, भन्ज्याङ – चौतारी, देउराली, चाडपर्व लगायत टिपिकल संस्कृति, परम्परा र बोली – शैलीलाई नछुटाएर यथार्थमा सर्लक्कै लोकको चित्र उतार्ने शील्प भएका यक्शोले फेरिपनि गाउँघर अनि सुन्दर तीनजुरे, मिल्के, जलजलेतिरको प्राकृतिक सौन्दर्यलाई भिडियोमा कैद गरेका छन् l उनले एउटी विचलित नारीको वेदना र छटपटीलाई गीत र भिडियोमा उतारेका छन् l

भिडियोमा कर्मघरको सेरोफेरोबाट माइतिघरको सम्झनामा विछिप्त बनेकी एउटी चेलीको परिदृस्य देख्न सकिन्छ l जहाँ रोदन, हाँसो र मीठो कल्पनाका सम्मिश्रण पाईन्छ । सरल तर गहिरा शब्दहरुसँग खेल्न सिपालु खगेन्द्र यक्सोको यो प्रयासलाई गीत सङ्गीतको डाङडुङ्गे भेलमा दर्शक / स्रोताले कत्तिको स्वीकार्ने हुन् त्यो भने हेर्न बाँकी छ ।

गीतका शब्दमा खोट लाउने ठाउँ छैन । शब्दको भाव अनुसारको सुनिता सुब्बाको मायालु स्वरले कतिपयको आँखामा आँसु टिल्पिलाउन पनि सक्छ l रेकर्डिङको प्रविधिक पक्षमा पहिलेका गीतको दाँजोमा केही नपुगेको हो कि जस्तो चाहिँ सुनिन्छ । भिडियोमा नायकको रुपमा सञ्चारकर्मी टि. आर. सेनेहाङ नयाँ जस्ता देखिन्छन् l मुख्य पात्र नायिका सहारा खापुङले गीतको मर्मलाई भावमा उतार्न सक्दो प्रयास गरेको देखिएता पनि शब्दको गहिराईसम्म अझै पुग्न नसकेको हो कि जस्तो लाग्छ । तर पनि कैद गरिएका सुन्दर दृस्यहरुले गर्दा भिडियो हेरुन्जेल मनलाई पूर्ण आनन्दित तुल्याउँछ । समग्रमा – यो गीत र म्युजिक भिडियो नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा सुन्दर ईंटा बनेको छ भन्ने कुरामा  कुनै द्विविधा भने छैन ।

Video Link