राष्ट्रिय भावका गीतमा गुन्जिए गायक खड्का

लोकप्रिय गायक सुमित खड्का राष्ट्रिय भावका गीतहरुसँगै एकल साँझमा गुन्जिए । शुभकामना मिडिया सोलुशनको आयोजना एवं म्यूजिक खबर र यूनिभर्सल पिस फेडरेशनको सहकार्यमा भएको ‘सुमित खड्का देशको आवाज’ कार्यक्रममा राष्ट्रिय भावका १५ वटा गीतहरुसँगै खड्काले प्रज्ञा भवनको प्रेक्षालय गुन्जयमान बनाएका थिए । ९ जना बाद्यवादकको समूहसँगै देशप्रेमको गीतहरु गाउँदै गर्दा गायक खड्कालाई महिला आवाजमा गायिका प्राश्ना शाक्यले साथ दिएकी थिइन् । कोरस गायनमा भने कृष्णा खनाल, सदिक्षा कट्टेल, अनुमा चौधरी, अस्मिता ढकालले साथ दिएका थिए भने साउन्ड इन्जिनियरको रुपमा छिरिङ भुटियाले साथ दिएका थिए ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कानूनमन्त्री भानुभक्त ढकाल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ (रायन), सांसद खेम नेपाली, नवराज सिलवाल, पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एस.पी. कोइराला, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, पूर्व मन्त्री भगवती चौधरी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, नायिका / निर्देशक दिपाश्री निरौला लगायतको शुभकामना मन्तव्यसँगै कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो ।

कार्यक्रमको सुरुआतमा नै ‘देशको आवाज’ भाग १ र २ एल्बमको विमोचन गरिएको थियो । ९ जना गीतकारहरुको १० गीत समावेश भएको सो एल्बम गीतकारहरुबाट नै सामूहिक रुपमा सार्वजनिक गरिएको थियो । कार्यक्रम लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए । कार्यक्रममा आयोजकका तर्फबाट शुभकामना मिडिया सोलुशनका अध्यक्ष सुमन बैरागीले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रियताप्रति कर्तव्यवोध गराउनका लागि गरिएको एकल गायन कार्यक्रमले राष्ट्रप्रतिको जिम्मेवारी बोध गराउन विश्वास लिएको बताउँदै अध्यक्ष बैरागीले सम्पूर्ण देशभक्तहरुलाई एकै ठाउँमा उभिएर राष्ट्रियता बचाउने अभियानमा लाग्न कार्यक्रमले उत्प्रेरित गर्ने बताए ।

त्यस्तै यूनिभर्सल पिस फेडरेशनका तर्फबाट उपाध्यक्ष सन्तोष कुमार पौडेलले मन्तव्य दिएका थिए । उनले माटोप्रतिको मायाले गर्दा नै सुमित खड्का एकल साँझ सम्पन्न भएको बताएका थिए । जन्मिएको माटोभन्दा माथि केही पनि नभएको भन्दै पौडेलले राष्ट्रियतालाई बचाउन यो कार्यक्रमले उर्जा दिएको बताए ।

कार्यक्रममा गायक खड्काकै स्वरमा रहेका गीतहरुमा डान्स फिवरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई राष्ट्रिय झण्डा प्रदान गरिएको थियो । गीतसँगै राष्ट्रिय झण्डा हातमा लिएर दर्शकदीर्घामा रहेका साङ्गीतिक मनहरु नाचेका थिए । कार्यक्रममा गायक खड्काले हिमाल पहाड तराई, कर्म गर्न कहिल्यै पछि पर्नु हुँदैन, मेरी आफ्नी आमा भन्दा, मेरो देश सुन्दर छ है, म जहाँ जाउँ विश्वका कुना, हिमालको पानीले सिंचिनु छ तराई, हिजोभन्दा आज राम्रो, जाँगरिला युवा हामी लगायतका १५ वटा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बाँसुरीमा बलराम समाल, तबलामा प्रमोद उपाध्याय, बेस गिटारमा सुमन श्रेष्ठ, लिड गिटारमा दिपेन थापा, किबोर्डमा प्रविन खड्का र राहुल भुजेल, ड्रममा विवेक राई, रिदम गिटारमा सुजित शाह, अक्टोप्याडमा साजन शाह रहेका थिए ।