आर्जन पाण्डेको भिडियोमा साइन्स फिक्सन

गायक आर्जन पाण्डेको‌ नयाँ गीत  ‘घाँटी भन्दा तल…’ को भिडियो सार्वजनिक भएको छ ।  बुधबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक पाण्डेले रिमा विश्वकर्माको साथमा आफैंले अभिनय गरेका छन् । भिडियो गायक पाण्डेकै यूट्युब च्यानल Arjan Pandey बाट सार्वजनिक भएको हो । गीतमा प्रतीक पौडेलको शब्द तथा सङ्गीत रहेको छ । साइन्स फिक्सन शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेमभित्र प्रवेश गरेपछि विकशित भएका घटनाक्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । बालाजूस्थित चलचित्र विकास कम्पनीमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका हुन्  । भिडियोका छायाकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।

अघिल्लो वर्ष गायिका ईन्दिरा जोशी सँगको युगल गीत ‘रेलिमाई’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईसँग गरेको ‘झिमिक्कै परेली…’ लाई पनि दर्शक तथा स्रोताले धेरै मन पराएका थिए । ‘घाँटी भन्दा तल’ गीत पप तथा ज्याज शैलीमा आधारित छ । गायक पाण्डेका अनुसार भिडियोलाई रोचक बनाउन केही ट्रिकहरु प्रयोग गरिएको छ । उनले यो भिडियो युवापुस्ताको रोजाइमा पर्न सक्ने अनुमान गरेका छन् ।