साँस्कृतिक मर्म बोकेको तीजगीत ‘तीजैमा ब्रत बसी’ को भिडियो सार्वजनिक, भ्युज उत्साहजनक रुपमा बढ्दै

  – तुलसी गिरी ‘भावुक’

सञ्चारकर्मी गीता अधिकारीद्वारा रचित तीजगीत ‘तीजैमा ब्रत बसी’ को भिडियो सार्वजनिक भएको छ l साउन ६ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरी सञ्चारकर्मीहरु माझ गीतको भिडियो सार्वजनिक गरिएको हो l कार्यक्रम गीतकारकै आमा यम कुमारी अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने पहिलो नेपाली रङ्गीन चलचित्रकी नायिका चैत्यदेवी, वरिष्ठ कलाकार लय सङ्ग्रौला, उत्तम के. सी., पत्रकार शान्तिप्रिय, सङ्गीतकार राजु सिंह, गायक सीताराम पोखरेल, गीतकार वसन्त वित्यासी थापा लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो l प्रमुख अतिथि यम कुमारीले रिमोटको बटम थिचेर भिडियो प्ले गरेकी थिईन् l

योगेश काजीको सङ्गीत तथा सङ्गीत संयोजनमा सारिका घिमिरेको स्वर रहेको सो गीतको भिडियो नारायण रिजालको निर्देशनमा छायाङ्कन भएको हो भने भिडियोमा पूजना प्रधान, सारिका घिमिरे, गीता अधिकारी र साथीहरुको नृत्य अभिनय रहेको छ l वर्ल्डकभर मिडिया, बिजुलीबजारको पोष्ट प्रोडक्शनमा निर्मित सो भिडियोमा वीरेन्द्र भाट विपिनको छायाङ्कन र सम्पादन रहेको यस भिडियोमा राम सिंह भाटले समेत सह सम्पादकको रुपमा काम गरेका छन् l गीत तथा भिडियो मिलाप मासिक तथा मिलाप अनलाइनको प्रस्तुतिमा आएको हो l

गतबर्षको तीजमा गीतकार गीताको पहिलो तीजगीत सार्वजनिक भएको थियो l त्यसैको निरन्तरता स्वरूप यसपाली पनि तीजगीत निकालिएको कुरा उनले जानकारी गराएकी छिन् l गतसाल पनि उनको गीतमा सारिकाले नै स्वर दिएकी थिईन् l भिडियो मोडलिङ तथा चलचित्र अभिनयको क्षेत्रमा राम्रो ख्याति आर्जन गरेकी सारिका गायनमा समेत त्यत्तिकै अब्बल छिन् l पछिल्ला समय अभिनय सँगसँगै गायनलाई समेत निरन्तरता दिईरहेकी सारिकालाई यतिबेला धेरै शुभचिन्तकहरुले अभिनय छाडेर पूर्ण रुपमा गायनमा लाग्न सुझाव दिईरहेका छन् l समारोहमा सार्वजनिक भएको गीत तथा भिडियोको सबैले खुलेर प्रशंसा गरेका थिए भने भिडियोले २ दिनमा २७  हजार भ्युज पाएको छ र यो क्रम द्रुत गतिमा बढिरहेको पनि छ l जसलाई उत्साहजनक नतिजाको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l गीत र भिडियोको बारेमा सबैजसो युट्युब दर्शकहरुले समेत सकारात्मक प्रतिक्रिया दिएको पाईएको छ l

Video Link