मौलिक र साँस्कृतिक तीजगीत ‘नाचौं मितिनी’

 – तुलसी गिरी ‘भावुक’

गायिका ईन्दिरा भट्टराईको नयाँ तीजगीत ‘नाचौं मितिनी’ को भिडियो सार्वजनिक भएको छ l गत साउन २ गते रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा गायिका भट्टराईको सो भिडियो औपचारिक रुपमै रिलिज गरिएको हो l वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द, लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजनमा ईन्दिराको स्वर रहेको यस गीतको भिडियो सम्झना बुढाथोकीको निर्देशनमा तयार भएको हो भने भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सरस्वती राना थापा आदिको नृत्य अभिनय रहेको छ l 

भिडियो विमोचन समारोहमा आफ्ना कुरा राख्दै गायिका ईन्दिराले व्यापार व्यावसायले गर्दा बीचमा केहीबर्ष नयाँ गीत रेकर्ड हुन नसकेको बताउँदै ०७५ सालको गुरु पूर्णिमाको दिनबाट भने पुन: सक्रिय रुपमा गायनमा फर्किएको जानकारी गराईन् l उनले अगाडि भनिन् – ‘आजबाट यो गीत तपाईंहरुको पनि हो, यसलाई माया गरिदिनुस् l अहिले कतिपय तीज भिडियो परिवारमा बसेर हेर्न पनि नसकिने खालका छन् l तर हामीले पर्वको मर्मलाई समेटेर साँस्कृतिक रुपमै गीत तयार परेका छौं l गीतकार दिनेश अधिकारीले सङ्गीत हुँदा र रेकर्डिङमा समेत स्वयं उपस्थित भएर धेरै सहयोग गर्नुभएको छ भने सन्तोष श्रेष्ठको सङ्गीतप्रति पनि म अत्यन्तै प्रभावित छु l’

यसैगरी समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका गीतकार दिनेश अधिकारीले यो गीत लगभग ४ वर्ष अगाडि नै रचना गरेको बताए l उनले भने – ‘मलाई चाडका बारेमा गीत लेख्न असाध्यै मन पर्छ l दशैंको गीत लेखें, तिहारको लेखें अनि तीजको पनि लेखें l यो चाड, घर र माईतीसँग सम्बन्धित छ l यो मिलनको चाड पनि हो l माइतीसँगको मिलन, आफू खेलेको धुलोमाटो, हिंडेको बाटो, साथीसङ्गी आदि कुराले चेलीलाई बालापनमा फर्काउने पर्व हो यो l यस पर्वमा चुरा र पोतेको साँस्कृतिक महत्व पनि छ l गीतले धेरै भन्दा धेरै पक्षहरु अलिअलि भएपनि समेटोस् भन्ने प्रयास गरेको छु l’

गीतका सङ्गीतकार सन्तोष श्रेष्ठले अहिले बजारमा आईरहेका कतिपय गीत र तीनका भिडियोले कतैबाट पनि तीजको झल्को नदिने कुरा बताए l केटाहरुले नाचेको तीज भिडियोलाई उनले भद्दा र व्यावसायिकताका नाममा भित्रिएको एउटा विकृत पाटोको रुपमा परिभाषा गरे l ‘भ्युज बढाउनकै लागि तयार पारिएका त्यस्ता गीत कुनै दृष्टिकोणबाट पनि तीजगीत जस्तो लाग्दैनन्’ उनले भने l ‘नाचौं मितिनी’ पर्व विशेषकै अनुशासनभित्र बसेर तयार पारिएको तीजगीत भएको धारणा राख्दै गायिका ईन्दिरालाई उनले सुझाव दिए – ‘कलाकारिता नदी जस्तै हो l बग्न छाड्यो भने नदीको अस्तित्व रहँदैन l तपाईं पनि नदी जस्तै बगिरहनुहोस् l’

समारोहमा रङ्ग पत्रकार शान्तिप्रियले ‘नाचौं मितिनी’ जस्तै मौलिक र विशुद्द साँस्कृतिक गीतका सर्जक कलाकारहरुलाई प्रोत्साहन दिनका लागि आफूहरुले ‘तीज म्युजिक अवार्ड’ को आयोजना गरिरहेको बताए l सो अवार्डका लागि फारम खुला भईसकेकोले फारम भर्न समेत उनले सम्बन्धित सबैलाई आग्रह गरे l ‘नाचौं मितिनी’ को भिडियो गायिका इन्दिराको आफ्नै युट्युब च्यानल ‘Indira’s Music & Entertainment मा हेर्न सकिन्छ l

Video Link