‘सरोज खनालले ट्वाईलेटमा फोटो खिच्नु असुविधा हैन नियोजित षडयन्त्र हो’ – चलचित्र बिकाश बोर्ड

    – तुलसी गिरी ‘भावुक’

चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रियाबारे चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी बोर्डले सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो l विज्ञप्तिमा अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभा हलमा कार्यक्रम प्रस्तुत गर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटोसेशन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेखेको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचारबारे बोर्डले आफ्नो धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ l

विज्ञप्तिमा भनिएको छ – ‘राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेशन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ । पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं । शौचालयमै बस्नुपर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाईएको र उहाँहरुले पनि हलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ । कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई कुनै असुविधा नहोस् भनेर  बोर्डका अधिकृत तहका ४ जना कर्मचारी सहित १० जना कर्मचारी उहाँहरुको सेवामा रहेको र उहाँहरुलाई सो क्रममा खाजासँगै आवश्यक पिउने पानी समेत उपलब्ध गराएको स्पष्ट पार्दछ । सो क्रममा कर्मचारी पनि कलाकारहरुसँगै प्रतीक्षा कक्षमै थिए । अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनैपनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ ।

राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराइएकाले त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ । तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गर्दछ । सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी कमजोरी भएको भए बोर्ड क्षमा चाहन्छ । र, आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिस्कृत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछ ।’