सङ्गीत उत्पादक समाजको चौथो साधारण सभा सम्पन्न, संस्थाको नाम परिवर्तन हुने

   – तुलसी गिरी ‘भावुक’

अविरल झरीका बाबजुद ‘सङ्गीत उत्पादक समाज नेपाल’ को चौथो बार्षिक साधारण सभा विधानमा केही महत्वपूर्ण संशोधन प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ l साधारण सभामा समाजका उपाध्यक्ष सूर्य बहादुर मगरले संस्थाको नाम परिवर्तन सहितका केही प्रस्ताव राखेका थिए भने सदस्यहरुको सर्वसम्मतबाट प्रस्ताव पास भएको छ l अनुमोदित प्रस्ताव अनुसार अब संस्थाको नाम ‘सङ्गीत तथा चलचित्र उत्पादक समाज’ रहने छ l केही हप्ता अघि मात्र चलचित्र निर्माताहरु पनि यस समाजमा आवद्ध भईसकेका छन् भने चलचित्र निर्माता सङ्घको सिफारिसमा सो क्षेत्रको प्रतिनिधित्व हुनेगरी चलचित्र निर्माता छविराज ओझालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको थियो l साधारण सभा समाजका अध्यक्ष निर्मलराज ढकालको सभापतित्व एवं सभासद खेम नेपालीको प्रमुख आतिथ्यमा असार २७ गते कमलादीस्थित सी. डब्लु. क्याफेको सभा हलमा सम्पन्न भएको हो l

साधारण सभामा समाजका महासचिव हुम गैरेले बार्षिक प्रगति तथा साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष राज शुक्र लिम्बूले लेखा परीक्षण सहितको आ. ब. ०७४/०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपस्थित सदस्यहरुले दुबै प्रतिवेदन स्वीकृत गरेका थिए l

समारोहमा, केहीदिन अघि मात्र संसदमा रोयल्टीका बारेमा आवाज उठाएर समस्त सर्जक, कलाकार र उत्पादकहरु माझ प्रिय बनेका सभासद खेम नेपालीले बौद्धिक सम्पति र रोयल्टीको बारेमा जस जसलाई कुरा बुझाउनुपर्ने हो, सो अझै पर्याप्त नभएकोले समस्या ज्युँका त्युँ रहेको धारणा राखेका थिए l उनले भने -‘यस विषयमा निर्णायक रोल गर्न सक्ने सांसद, मन्त्री कस कसलाई हुन्छ २-४ जनालाई राम्ररी कुरा बुझाउनुहोस् l बरु सबैलाई कतै टाढा नगरकोटतिर लानुस् र भिडियो प्रोजेक्शन सहित स्पष्ट पार्नुस् l नेत्तृत्वले नचाहेको हैन, तर कुरा बुझेका छैनन् र बुझाउन जरुरी छ l’ सङ्गीत क्षेत्रलाई व्यवस्थित गर्ने हो भने ५० प्रतिशत बेरोजगारी समस्या हल हुने विचार समेत सभासद नेपालीले व्यक्त गरेका थिए l

यसैगरी चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले काम गर्ने सिलसिलामा सानातिना बिरोध बाधा आउनु स्वाभाविक भएको धारणा राख्दै सबै एक हुनुको विकल्प नरहेको बताए l ‘म फेसबुकलाई र धेरैजसो मिडियालाई विश्वास गर्दिन l म टेबुल टकमा मात्र विश्वास गर्छु l केही समस्या र असमझदारी भए टेबुलमा बसेर वार्ता गरौँ, समाधानको बाटो अवश्य निस्कन्छ’ उनले भने l ‘चलचित्र क्षेत्रको छुट्टै सीएमओ खोल्नुपर्छ भन्ने कुरा सहकर्मीहरुबाट सुझाव आईरहेको थियो l संस्था खोल्नु मात्र ठूलो कुरा हैन l व्यवस्थापन र संचालन पनि गर्नुपर्छ l धेरै संस्था हुनु राम्रो कुरा हैन भनेर हामी चलचित्र निर्माताहरु पनि यो संस्थामा आवद्ध भएका हौँ’ अधिकारीले स्पष्ट पारे l

सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष महेश खड्काले अहिले बजारमा उठिरहेका फेसबुके हल्लाहरुप्रति लक्षित गर्दै भने -‘सङ्गीत रोयल्टी सङ्कलन समाजमा भ्रष्टाचार भएको छ भने किटान हुनुपर्यो, कसले गरेको छ ? कति गरेको छ ? मैले गरेको रैछु भने सजाय भोग्न तयार छु l काम गर्ने सिलसिलामा खर्च हुन्छ l इन्भेष्ट नगरी आम्दानी हुँदैन l त्यत्तिकै फुत्त त चोर फटाहाहरुले कमाउने हो l यातायातको रोयल्टी उठाउने सिसिलामा हामीले तत्काल ठाउँ ठाउँमा कर्मचारी राक्नुपर्यो l अफिस, कम्प्युटर, इन्टरनेट, फर्निचर लगायतका व्यवस्थापनका लागि हामीसँग पैसा थिएन l हामीले मौज्दात रोयल्टीबाटै पछि हिसाब मिलाउने गरी खर्च गर्यौं l तर हामीले अनुमान गरेजति रोयल्टी उठेन l पहिले स्टेक होल्डरहरुसँग धेरै लड्यौं, अहिले हामी आफैं लड्दैछौं l हामी अहिले कठिन अवस्थामा छौं l ५२ पोर्टलहरुबाट गीत – सङ्गीतको सार्वजनिक प्रयोग भईरहेको छ l ती सबै ठाउँबाट रोयल्टी उठाउने दायित्व हामीसँग छ l’

निकै अघिदेखि मलिन मुद्रामा देखिएका खड्काले भावुक हुँदै भने -‘म चलचित्र सङ्गीतमा रमाउने मान्छे, लगभग १ सय ८ चलचित्रमा सङ्गीत गरेको छु l म जस्तै धेरै सर्जकहरुले रोयल्टी नपाएपछि आफ्नो मूल कर्म छाडेर विगत ८ – ९ बर्षदेखि रोयल्टीका लागि सङ्घर्ष गरिरहेको छु l यो ९ बर्षको अनुभव बहुत दु:खदायी छ l कार्यकाल सकिएपछि हार्मोनी र गितारसँग रमाउँने मन छ l’

यसैगरी समारोहमा प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले योगदानको आधारमा रोयल्टी वितरण गर्ने खेल भईरहेको खुलासा गर्दै यदि त्यस्तो भएमा ठूलो दुर्घटना हुने बताए l ‘योगदानको आधारमा २५ प्रतिशत सम्ममा खेल्न सकिएला तर बाँकी पैसा जसको हो उसले पाउनु पर्छ’ उनले भने l ‘सिन्डिकेटको विरुद्धमा ठूला ठूला कुरा गरियो तर केही गर्न सकिएन l हामी आफूले बोलेको कुरा किन पूरा गर्न सकिरहेका छैनौं ? उनले आफैंलाई प्रश्न गरे l ‘हामी काम गर्दै जान्छौं l जब जब व्यवस्थापनको नजिक पुग्छौं फेरि अनेक प्रकारका इस्युहरु ल्याईन्छ र हामी त्यहीं अड्किन्छौं l जहाँको तहीं हुने हो भने बरु यात्रा नै नगरौं l हैन भने कार्यतालिका बनाएर अघि बढौं’ पराजुलीले भने l ‘तीनवटै सीएमओ एउटै घरमा बसौं l एउटै सीईओ नियुक्त गरौँ l आन्तरिक व्यवथापनलाई बलियो बनाउँ र सबैको साझा धारणा बनाउँ’ उनले जोड दिएर भने l गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटाले अलिअलि विमति राख्ने मान्छे हुनु स्वाभाविक भएको बताउँदै एकतामा जोड दिनका लागि सुझाएका थिए l उनले भने -‘हामी एक भयौं भने बाहिर सन्देश पनि राम्रो जान्छ l गीतकार सङ्घ आफ्ना विज्ञहरुबाट सेवा र सुझाव दिन संधै तयार छ l’ कार्यक्रम समाजका महासचिव हुम गैरे र सचिव सुनिल लामिछानेले संचालन गरेका थिए l