‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०७६’ सम्पन्न, जूनकिरी दोहोरी साँझलाई रू. १ लाखको प्रथम पुरस्कार

 – तुलसी गिरी ‘भावुक’

साँस्कृतिक संस्थान { राष्ट्रिय नाचघर } र लोक तथा दोहोरी गीत प्रतिष्ठान, केन्द्रीय समितिको संयुक्त आयोजनामा सञ्चालित ‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०७६’ मा जूनकिरी दोहोरी साँझले प्रथम स्थान हासिल गरेको छ l गत असार २२ गतेदेखि साँस्कृतिक संस्थानको मेघा हलमा सुरु भएको सो प्रतियोगिताको २५ गते फाइनल प्रतिस्पर्धा भएको थियो l प्रतियोगिताको विजेता समूह रू १ लाख नगद सहित पुरस्कृत भएको छ l प्रतियोगितामा नगरकोट दोहोरी साँझ { ख } ले दोस्रो, गण्डकी प्रदेशले तेस्रो र नगरकोट दोहोरी साँझ { क } ले तेस्रो स्थान हासिल गरी क्रमश: नगद रू. ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्राप्त गरेका छन् l 

यसैगरी समारोहमा अनुशासित कलाकार जालुमाया गुरुङ र नवोदित कलाकार कृष्णा राना क्षेत्रीले जनही रू. २५ – २५ हजार प्राप्त गरेका छन् भने उत्कृष्ट गायक अर्जुन खड्का र उत्कृष्ट गायिका सपना रोकाले पुरस्कार स्वरूप नगद रू ५ – ५ हजार पाएका छन् l प्राप्त जानकारी अनुसार प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालीले गरेका थिए l पुरस्कृत सबैलाई समारोहका सभापति तथा संस्थानका महाप्रवन्धक राजेश थापा, समारोहका प्रमुख अतिथि वरिष्ठ गायक/सङ्गीतकार नारायण रायमाझी, पृथ्वी थकाली लगायतका विशिष्ठ व्यक्तिहरुले पुरस्कार हस्तान्तरण गरेका थिए l प्रतिस्पर्धामा २८ समूह सहभागी भएका थिए l

४ दिनसम्म चलेको सो कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिजीको संयोजन रहेको थियो भने पूरै अवधिभर कार्यक्रमको संचालन समेत उनैले गरेका थिए l प्रतियोगी समूहको संयोजन कृष्ण आँशुले र सञ्चार संयोजनको काम प्रकाश बराईली ‘अभिव्यक्ति’ ले सम्हालेका थिए l कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वद्रि पंगेनी, केन्द्रीय  वरिष्ठ उपाध्यक्ष रमेश बिजी र केन्द्रीय कोषाध्यक्ष दीपक खड्काले आयोजनामा सहकार्य गर्ने साँस्कृतिक संस्थान, सहयोगी, दाता, सहभागी कलाकार, दर्शक र संचारकर्मी एवं संचार संस्थाहरुप्रति आभार प्रकट गरेका छन् l