नेपाल सङ्गीत उद्योग सङ्घद्वारा म्युजिक अवार्डको औपचारिक घोषणा

–  तुलसी गिरी ‘भावुक’

सङ्गीत व्यवसायीहरुको एकमात्र पेशागत छाता सङ्गठन ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ ले स्थापनाको २७ औं बर्ष पूरा गरेको अवसरमा म्युजिक अवार्डको कार्यक्रम गर्ने भएको छ l असार २२ गते कमलादीस्थित सी डब्लु क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी सङ्घले अवार्डको औपचारिक घोषणा गरेको हो l पत्रकार सम्मेलनमा ‘नेपाली गीत, सङ्गीत र संस्कृति संरक्षणको अभियान, व्यावसायिक एकता सहितको हाम्रो पहिचान’ नारा सहित ‘नेपाल सङ्गीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ को आयोजना गर्न लागिएको कुरा जानकारी गराईएको छ l समारोहमा प्रसिद्ध कलाकार जोडी ‘मह’ लाई लाइफटाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ l

प्राप्त जानकारी अनुसार असार २२ बाटै अवार्ड प्रतिस्पर्धाका लागि फारम खुला गरिएको छ l फारम भर्ने अन्तिम मिति र अवार्ड आयोजना हुने मिति भने केही दिनमै सार्वजनिक गरिने छ l यसअघि आयोजना हुँदै आईरहेका अन्य अवार्डहरुमा बैशाखदेखि चैत मसान्तभित्र अर्थात १ वर्षभित्र प्रकाशित गीत र तिनका अन्य विधाहरुले अवार्डका लागि आवेदन दिन सक्ने व्यवस्था हुँदै आएकोमा यस अवार्डमा भने १५ महिनाभित्र प्रकाशित गीत अर्थात २०७५ बैशाख १ देखि २०७६ असार मसान्त सम्ममा प्रकाशित सिर्जना र तिनमा आवद्ध सर्जक, कलाकार एवं प्राविधिकहरुले फारम भर्न पाउने भएका छन् l जसबाट साउन महिनाको दोस्रो साता या साउनभर फारम भर्न सकिने सम्भावना छ l

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार अवार्डका लागि आवेदन दिँदा हरेक विधामा रू. १ हजार शुल्क लाग्ने छ l कुनै गीतको म्युजिक भिडियो नबनेको भएपनि सो गीतका गायक – गायिकाले भने प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् l पत्रकार सम्मेलनमा वितरित आवेदन फारम अनुसार आवेदनका लागि विधागत समूहहरु छुट्याइएको छ l जस अनुसार लोकदोहोरी र लोकजुहारीमा १७ – १७ विधा, पप गीतमा १५ विधा, भाषाभाषी गीतमा १२ विधा { उल्लेखित बाहेकका अन्य विधाका गीत आएमा थपिन सक्ने } आधुनिकमा १६ विधा र चलचित्र गीतमा १२ विधा छुट्याइएको छ l भाषाभाषी विधामा भने सर्वोत्कृष्ट गीतका लागि मात्र फारम भर्न सकिने छ l आवेदन फारममा मगर, गुरुङ, तामाङ, लिम्बू, नेवारी, मैथिली, भोजपुरी, राई, थारु, देउडा र याख्खा भाषा उल्लेख गरिएको भएपनि अन्य भाषाका गीतमा समेत आवेदन दिन सकिने कुरा आयोजकले जानकारी गराएका छन् l सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, दशक गीत र म्युजिक कम्पनीका विधामा समेत अवार्ड दिईने भएपनि यी विधामा प्रतिस्पर्धा गराईने छैन l प्रतिस्पर्धी र अप्रतिस्पर्धी ३ गरी कूल ९० भन्दा बढी विधामा अवार्ड प्रदान गरिने थाहा भएको छ l