बोर्डको १९ औं वार्षिकोत्सवमा चलचित्रकर्मीहरु सम्मानित, साउनदेखि देशैभर बक्स अफिस अनिवार्य

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यही आउँदो साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने बताएका छन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिक उत्सवको अवसरमा आयोजित ‘वार्षिक उत्सव तथा सम्मान कार्यक्रम’ मा मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।

बिभिन्न चलचित्रकर्मीहरुलाई सम्मान गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने, साउनबाट सिनेमा हलमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने, चलचित्र छायाङ्कनका लागि सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने र नेपालका सिनेमा हलमा १ सय ८० दिन अनिवार्य नेपाली चलचित्र प्रदर्शन गर्नैपर्ने नियम लागू गर्ने बताएका छन् । यस्तै नेपाली चलचित्र उद्योगको हितका लागि नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, बालाजूलाई दिइएको जग्गा अहिले हराएको र त्यो जग्गालाई सरकारले जसरी पनि खोजी गर्ने प्रतिवद्धता मन्त्री बाँस्कोटाले व्यक्त गरेका छन् । बोर्डको १९ औं वार्षिक उत्सव कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म महत्वपूर्ण योगदान पुर्याएका १५ जना चलचित्रकर्मीलाई बोर्डका तर्फबाट ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान – २०७६’  बाट सम्मान गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा २०२२ देखि २०५० को दशकसम्म उल्लेख्य योगदान पुर्याउनेहरु मध्ये वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, वरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ र भुवन के.सी. र नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द सम्मानित भएका छन् । यस्तै वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटा, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ र वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान’बाट सम्मानित भएका छन् ।

समारोहमा वरिष्ठ छायाकार मञ्जुकुमार श्रेष्ठ, वरिष्ठ ध्वनि विशेषज्ञ प्रदीपकुमार उपाध्याय, वरिष्ठ चलचित्र निर्माता छविराज ओझा,  वरिष्ठ पोष्टर डिजाईनर सुन्दर श्रेष्ठ, वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधार र विज्ञापन निर्माता निर्मलराज पौडेल सम्मानित भएका थिए भने कामना पब्लिकेशन र नेपाली चलचित्रमा विदेशीको योगदान अन्तर्गत जापानी नागरिक डा. तोसिआकी इतोहलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

यसैगरी नेपाली चलचित्रको प्रदर्शन मार्फत् विकास र विस्तारमा योगदान पुर्याउने चारओटा हललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरियो । जस अन्तर्गत काठमाडौंको विश्वज्योति सिनेमा भवन, विर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई सम्मानित भएका छन् भने नेपाली चलचित्रको प्रदर्शनमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित गरियो ।

यस्तै २०७५ सालमा प्रदर्शित नेपाली चलचित्रबाट तीनओटा चलचित्र ‘गोपी, बुलबुल र कथा ७२’ लाई विशेष चलचित्रका रुपमा सम्मानित गरियो । विशेष चलचित्र छनोट समितिका निर्णायकहरु दयाराम दाहाल, नवल खड्का, सुशील पोखरेल, सुदर्शन श्रेष्ठ र निर्मला चौलागाईलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरियो ।

प्रारम्भिक कालखण्डका पुराना चलचित्र एवम् ऐतिहासिक वृत्तचित्रलाई डिजिटाईजेसन गर्न उल्लेख्य योगदान पुर्याएबापत महेन्द्र प्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), प्रभाकर भट्टराई र चिरञ्जिवी गुरागाईंलाई पनि कदरपत्र प्रदान गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मन्त्री बाँस्कोटाको निर्देशन अनुसार साउनबाट आफूहरुले बक्स अफिस मुलुकभरका सिनेमा हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्याकामा इन्डोर सुटिङ्ग स्टुडियो निर्माण गर्ने, आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने र छायाङ्कनको लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । यस्तै समारोहमा सम्मानित हुने श्रष्टाहरुलाई  चाँडै केही रकम पनि प्रदान गरिने कुरा अध्यक्ष भट्टराईले जानकारी गराएका छन् ।

चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्डका वार्षिक गतिविधिबारे कार्यक्रममा प्रकाश पारेका थिए । वरिष्ठ चलचित्र निर्देशक एवम् बोर्डका प्रथम अध्यक्ष यादव खरेलले चलचित्र नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै बोर्डले पुराना चलचित्र डिजिटलाईजेशन गरेकोमा त्यसको प्रशंसा गरे । बोर्ड सदस्य दयाराम दाहालले बोर्डको भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।