बिराटनगरका कवि ‘नवोदित’ राजधानीमा l साँस्कृतिक संस्थानको आयोजनामा एकल कविता वाचन

साँस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाको तेस्रो बिहीबार आयोजना हुँदै आईरहेको कार्यक्रम ‘स्रष्टा र सिर्जना’ को पन्ध्रौँ शृङ्खला अन्तर्गत कवि मीनकुमार नवोदितको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ l संस्थानका महाप्रवन्धक राजेश थापाको सभापतित्व एवं लोकवार्ताविद प्रा.डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न सो एकल कवितावाचन कार्यक्रममा कवि नवोदितका ‘जून र आमा’, ‘अर्ग्यानिक अनुहार’, ‘अन्तिम इच्छा’, ‘घाईते समय’, ‘शाषक र भगवान’, ‘युगको अन्तिम रात’, ‘रहर’, ‘तस्बीर र प्रेम’, ‘देश छाड्नु अघि’, ‘अनुहारको बयान’, ‘देशको नाममा’ र ‘सम्झनामा बा’ गरी १२ वटा कविता वाचन भएका थिए l जसमध्ये ९ वटा कविता कवि नवोदित स्वयम्ले वाचन गरेका थिए भने कविद्वय ठाकुर बेल्बासे र उमेश राई ‘अकिञ्चन’ का साथै कवयित्री ज्योति जङ्गलले मिनकुमारका १ – १ वटा कविता वाचन गरेका थिए l पूर्वको औद्योगिक शहर बिराटनगरबासी मीनकुमार विद्युतीय एवं छापा पत्रकारिता र साहित्य लेखनमा लामो समयदेखि क्रियाशील रहँदै आएका छन् भने ईमान्दारिता, लगनशीलता र कार्य कुशलताका कारण उनी आफ्नो क्षेत्रमा निकै लोकप्रिय समेत छन् l

साँस्कृतिक संस्थानको मिनी हलमा सम्पन्न सो समारोहमा राष्ट्रिय सभा सदस्य खेम नेपाली, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, वरिष्ठ रङ्गकर्मी रमेश रन्जन, प्राज्ञ गङ्गा सुवेदी, वरिष्ठ संस्कृति अन्वेषक तुलसी प्रभास लगायतको उपस्थिति रहेको थियो l कार्यक्रममा संस्थानका वरिष्ठ नाटक प्रवन्धक एवं कार्यक्रम तथा योजना शाखा प्रमुख प्रभाकर शर्माले अतिथिहरुको स्वागत गरेका थिए भने महेश पौडेलले १२ वटै कविताको शटिक एवं मननीय समीक्षा गरेका थिए l समारोहमा प्रमुख अतिथि तुलसी दिवसले कवि नवोदितलाई खादा, माला र कदरपत्रद्वारा सम्मान गरेका थिए l कार्यक्रम जंग पहाडीले संचालन गरेका थिए l

सम्पूर्ण कार्यक्रम भिडियोमा हेर्नुहोस्