वरिष्ठ गीतकार नगेन्द्र थापा नगद रू. १ लाख १ र ताम्रपत्र सहित सम्मानित

गीतकार सङ्घ नेपालले नगद रू. १ लाख १ र ताम्रपत्र सहितको ‘राष्ट्रिय स्रष्टा सम्मान २०७५’ बाट वरिष्ठ गीतकार नगेन्द्र थापालाई सम्मान गरेको  छ l सङ्घले बार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम अन्तर्गत गत शनिबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘सातौँ  राष्ट्रिय स्रष्टा सम्मान’ तथा ‘नवौं वार्षिकोत्सव कार्यक्रम’ का अवसरमा गीतकार थापालाई सो सम्मान अर्पण गरिएको हो l 

समारोहमा गीतकारद्वय डीआर उपाध्याय ‘सन्तानको शीर’ गीतबाट र हाङयुग अज्ञात ‘आमा मेरो’ गीतबाट संयुक्त रुपमा ‘बर्षगीत पुरस्कार’ बाट पुरस्कृत भएका थिए l रु. ५१ हजार राशीको सो पुरस्कार दुबै विजेतामा दामासाही भएको छ l यसैगरी ‘बर्ष पुस्तक पुरस्कार’ बाट ‘दिलको गजुर’ नामक गीतको पुस्तकबाट उर्मिला कोईराला र ‘पहाडको गीत’ नामक पुस्तकबाट गौरव गुरुङ पनि संयुक्त रुपमा पुरस्कृत भएका छन् l रु. ५१ हजारको यो पुरस्कार पनि दुवै विजेतामा दामासाही भएको छ l दुवै विधाका विजेताहरुले नगदका साथमा प्रमाणपत्र समेत प्राप्त गरेका छन् l अघिल्ला वर्षहरुमा झैं यसपटक विदेशमा बसेर नेपाली गीत-सङ्गीतको उत्थानका लागि कलम चलाउने गीतकारहरु मध्येबाट हङ्कङ निवासी रामकृष्ण वान्तवा नगद रु. ११ हजार र प्रमाणपत्र सहित ‘डायस्पोरा गीतकार सम्मान’ बाट सम्मानित भएका छन् l

प्राप्त जानकारी अनुसार बर्षगीत पुरस्कारका लागि सङ्घमा ५६ वटा गीत दर्ता हुन आएकोमा अरुण तिवारीको ‘कति कुरा’, वसन्त राज अज्ञातको ‘कटेरोको बास’, दिनेश सुवेदीको ‘विदेशिए रमाई’, जानु काम्बाङ् लिम्बूको ‘कैयौं प्यासी’, डा. डी. आर. उपाध्यायको ‘सन्तानको शीर’, टिका चाम्लिङको ‘यी दु:खहरु’, हाङ्युग अज्ञातको ‘आमा मेरो’, झोटन मेहताको ‘हिमाल मेरो’, रमेश दाहालको ‘शान्ति अङ्कुर’ र अर्जुनरत्न भिखारीको ‘धनले होईन’ टप टेनमा पर्न सफल भएका थिए भने ‘वर्षगीत पुस्तक पुरस्कार’ का लागि दर्ता भएका ७ पुस्तक मध्ये उर्मिला कोईरालाको ‘दिलको गजुर’, गौरव गुरुङको ‘पहाडको गीत’ र रविन्द्र आशिष ‘शैली’ को ‘माया महल’ टप थ्रीमा परेका थिए l ‘टप थ्री’ मा परेका गीतकार रविन्द्र आशिष ‘शैली’ लाई समेत ‘टप थ्री’ को प्रमाणपत्र प्रदान गरिएको थियो l सम्मानित एवं पुरस्कृत सबै गीतकारहरुलाई समारोहका प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए l