गीतकार श्रापितद्वारा पिताको स्मृति दिवसमा खाद्यान्न वितरण

पोखराबाट सञ्चालित साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’ को ४८ औँ शृङ्खला शनिबार पोखराको रामघाटस्थित गीता मन्दिरमा सम्पन्न भएको छ । सोही अवसरमा गीतकार सुमन श्रापितले आफ्ना पिता भक्तबहादुर सुनारको दोस्रो स्मृति दिवसको सन्दर्भ पारेर गीता मन्दिरमा आश्रित वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेका छन् । आफ्ना पिताले जीवनकालमै वृद्धवृद्धाहरुलाई सहयोग गर्न आग्रह गरेको भन्दै उनले सो खाद्यान्न हस्तान्तरण गरेका हुन् । उनीसँगै आमा बालकुमारी र श्रीमती यमकुमारीले पनि संयुक्त रुपमा खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरेका थिए । अन्य परम्परागत कार्य गरेर स्मृति दिवस मनाउनुभन्दा सेवाको कार्य गरेर मनाउँदा आफ्ना पिताजी बढी खुसी हुने ठानेर यस्तो कार्यमा अघि बढेको गीतकार श्रापितले बताए । पोखरामा रहेर साङ्गीतिक कर्म गरिरहेका श्रापितका दर्जनौँ गीत रेकर्ड भएका छन् भने ‘भावनाको खेती’ नामक गीत सङ्ग्रह प्रकाशित छ ।

सुगम सङ्गीत यात्राका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा रामभक्त जोजजू, सुदीक्षा लामिछाने, रुपेश भण्डारी, कमला अर्यालल गायतले आफ्ना साङ्गीतिक प्रस्तुति राखेका थिए । उपाध्यक्ष नवराज बरालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए । पोखरामा क्रियाशील अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको आयोजनामा हरेक महिना सञ्चालन हुँदै आएको ‘सुगम सङ्गीत यात्रा’ को स्वर्ण शृङ्खलालाई विशेष बनाउने तयारीमा आफूहरु रहेको अध्यक्ष अधिकारीले बताए ।

यसैबीच गीताञ्जली साहित्य परिवारको मासिक रचना वाचन कार्यक्रमको १ सय ९९ औँ शृङ्खला पनि सम्पन्न भएको समाचार प्राप्त भएको छ । परिवारका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रभात नायक भूपति ढकाल ‘कमल’ रहेका थिए । कार्यक्रममा मदन भण्डारी, शोभाकान्त गौडेल, धर्मराज पौडेल, शङ्कर ज्ञवाली, छविलाल आचार्य, गोविन्द पराजुली लगायतले रचना वाचन गरेका थिए ।