आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न

नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा राष्ट्रिय सभागृहमा सम्पन्न ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा  लिम्बू भाषाको फिल्म ‘के च्याब्रुङ’ सर्वोत्कृष्ट फिल्म सावित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा सोमबार महोत्सवको समापन भएको छ । समारोहमा गुरुङ चलचित्रकी निर्देशक जसमाया गुरुङले उत्कृष्ट निर्देशकको, गुरुङ फिल्म ‘रिजेनासा’का बलबहादुर गुरुङले उत्कृष्ट पुरुष कलाकारको, मगर भाषाको  ‘खुर्पेटो’ बाट बिना थापा मगरले उत्कृष्ट महिला कलाकारको र राई भाषाको ‘यारी’ फिल्मका युवराज वीर बहादुर राईले उत्कृष्ट छायाकारको पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी गुरुङ भाषाको रिजेनासा फिल्म दर्शकबाट पाएको ४ सय १ सदर मतका आधारमा रु. ३० हजार नगद सहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ । महासङ्घका अध्यक्ष अमृत सुनुवारको  सभापतित्वमा सम्पन्न आजको समारोहमा वेष्ट शर्ट फिल्म राजवंशी भाषाको ‘पुल्टी’ र वेष्ट डकुमेन्ट्री सुनुवार भाषाको ‘छेककगु’ ले प्राप्त गरेका छन् । आदिवासी जनजाति मातृभाषाका प्रथम सिने पत्रकार विजयरत्न तुलाधर, नेपालकी पहिलो महिला सिनेम्याटोग्राफर शवनम मुखिया र आदिवासी कलाकर्मी राज थापाको जुरीले निर्णायकको भूमिका निर्वाह गरेको कुरा थाहा भएको छ ।