न्यू मिडिया एकेडेमीद्वारा ११ पत्रकार पुरस्कृत

न्यू मिडिया एकेडेमी प्रा.लि. को आयोजनामा शनिबार ‘दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड २०७६’ सम्पन्न भएको छ । समारोहमा मकवानपुरका ११ जना क्रियाशील पत्रकारहरुलाई बिभिन्न ११ विधामा अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रममा हालसम्म नेपाल पत्रकार महासङ्घ, मकवानपुर शाखाको नेतृत्व गर्ने पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । जस अन्तर्गत पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ  सम्मानित भएका थिए । सबैलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।

अवार्डका बिभिन्न विधा अन्तर्गत ‘उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड’ एभिन्युज टेलिभिजनका राजन दाहाललाई,  ‘उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड’ नागरिक दैनिकका अशोक सुजन श्रेष्ठलाई, ‘उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड’ साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्णलाई, ‘उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड’ अन्नपूर्ण पोष्ट दैनिकका कृष्ण सारु मगरलाई र ‘उत्कृष्ट सम्पादक वर्ष अवार्ड’ साझाकुरा दैनिकका सुवास विडारीलाई प्रदान गरिएको थियो । त्यसैगरी ‘उदियमान पत्रकार वर्ष अवार्ड’ बाट रेडियो थाहा सञ्चारकी सृजना नेपाल, ‘उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड’ बाट प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, ‘उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड’ बाट रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, ‘उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड’ बाट रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारी पुरस्कृत भएका छन् ।

कार्यक्रममा  ‘उत्कृष्ट पुरुष पत्रकार वर्ष अवार्ड’ कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारीलाई र ‘उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड’ टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । कूल ११ विधा मध्ये ९ विधामा सम्मानपत्र सहित जनही नगद रु. पाँच – पाँच हजार र ‘उत्कृष्ट पुरुष पत्रकार वर्ष अवार्ड’ र ‘उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड’ प्राप्त गर्नेलाई जनही नगद रु.  दश – दश हजार सहित अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित हुने र अवार्ड प्राप्त गर्ने सबै पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

साङ्गीतिक कार्यक्रम सहित आयोजित सो समारोहमा प्रकाश सपुतले लोकप्रिय गीत ‘गलबन्दी’ प्रस्तुत गरेका थिए । उनलाई गायिका काजल गुरुङले साथ दिएकी थिइन् । कार्यक्रममा हेटौंडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले समेत प्रस्तुति दिएका थिए ।

अवार्ड कार्यक्रममा प्रदेश ३ का सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अरुणराज सुमार्गी,  मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, चुरेहिल हस्पिटलका प्रमुख डा. सुन्दर श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जनप्रतिनिधि, पत्रकारहरु, चलचित्र कोपिलाका टिम, युवा व्यवसायीहरु लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मकवानपुरका पत्रकारहरुमा हौसला प्रदान होस् भन्ने अभिप्रायले अवार्ड कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष मणिराज गौतमले बताएका छन् । यसअघि यूएईको बरदुवईमा पहिलो अवार्ड कार्यक्रम सम्पन्न गरिएको कुरा समेत अध्यक्ष गौतमले जानकारी गराए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने बिभिन्न गाउँपालिका कार्यालय, हेटौंडा उपमहानगरपालिका लगायत प्रायोजक र सहयोगी व्यक्तिहरुप्रति उनले आभार प्रकट गरे । अवार्डको जुरी समितिमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई, उपाध्यक्ष कुमार अधिकारी र पत्रकार रोशन पराजुली रहेको कुरा जानकारी गराईएको छ । आयोजक संस्था न्यू मिडिया एकेडेमी प्रा. लि. ले सिधाखबर डटकम र हिट हेटौंडा अजलाइन टिभि सञ्चालन गर्दै आइरहेको छ ।