अन्तरजातीय प्रेमको पीडा म्युजिक भिडियोमा आउने

अन्तरजातीय प्रेममा आधारित गीत ‘तिमी सुनमा जोखिने मान्छे, म सुनपानीले चोखिने मान्छे’ को भिडियो छायाङ्कन गरिएको छ । वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन् । केटा र केटी बीचको बालापन, आत्मीयता एवं वयस्क भईसकेपछि  झाङ्गिएको प्रेमलाई भिडियोमा चित्रण गरिएको कुरा निर्देशक शान्तिप्रियले जानकारी गराएका छन् । सानैदेखि सँगै खेले हुर्केको मान्छे, मन मिलेको अनि मन परेको मान्छेलाई प्रेम गर्दा जातीय विभेदको पर्खाल बाधक भएर कसरी अगाडि ऊभिन्छ भन्ने कुरा गीतको शब्दमा व्यक्त भएका छन् ।

प्रकाश के.सी. को शब्द, ज्योतिप्रकाश बि. क. को सङ्गीत र शरद समिपको स्वरमा तयार भएको यस गीतमा विष्णु अधिकारीको सङ्गीत संयोजन रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन रहेको यस भिडियोमा वरिष्ठ चलचित्रकर्मी, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक माधवराज खरेल, अभिनेत्री शिल्पा पोखरेल, गीतका गायक शरद समिप, बाल कलाकार कुशाग्र भट्टराई एवं एञ्जेल राईले अभिनय गरेका छन् ।   गीतमा एशोसिएट निर्देशकका रुपमा माधवराज खरेल रहेका छन् ।

गीतको भावलाई सकेसम्म उतार्ने प्रयास गरिएको कुरा निर्देशक शान्तिप्रियले बताए । भाव अनुसारको चरित्र उतार्नकै लागि भिडियोमा धेरै कलाकार राख्नु परेको समेत प्रियले जानकारी गराए । भिडियो असारको मध्यतिर रिलिज गरिने कुरा थाहा भएको छ ।