सुरेन्द्र महर्जनको गीति चलचित्र ‘भाग्य’ को च्यारिटी

नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ को च्यारिटी शो गरिएको छ  । अनाथ बाल बालिकाहरूको सहयोगार्थ रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो-सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारिटी शो गरिएको हो । यो चलचित्र आजभन्दा करिव सयबर्ष पहिलाको कथामा आधारित रहेको कुरा थाहा भएको छ । गरिवी र अभावमा पिल्सीएका परिवारको अमर प्रेमकथा बोकेको यस चलचित्रमा तत्कालिन परिवेशका दु:खसुख, जन्म मृत्यु, भागी बिबाह आदिको चित्रण गरिएको छ । चलचित्र कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को चर्चित कृति गीति नाटक ‘भाग्य’ भित्रको कथा समेटेर निमार्ण गरिएको कुरा साहित्यकार महर्जन स्वयम्ले जानकारी गराएका छन् । सो कृति तयार गर्न २५ बर्ष लागेको कुरा जानकारी गराउंदै कृतिकार अमर भन्छन् – ‘मलाई आफ्ना कुनैपनि कृति प्रकाशन गर्न गार्‍हो भएन । तर गीति नाटक ‘भाग्य’ प्रकाशन गर्न धेरै वर्ष लाग्यो । यसलाई फिल्मको रूप दिन मात्रै तीनवर्ष लाग्यो ।’  च्यारीटी सो गर्नका लागि काठमाण्डौबाट  चलचित्रका लेखक सुरेन्द्र महर्जन ‘अमर’, निर्देशक रोशनकुमार, कार्यकारी निर्माता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा सङ्गीतकार एवं गायक सूर्य कमल राई दनुवार रौतहट पुगेका थिए ।

रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकरको प्रमुख आतिथ्यमा सम्पन्न सो च्यारिटी शोमा संचारकर्मी संजय कार्की, जितेन्द्र सिंह दनुवार, सागर हुमागाई, स्थानीय समाजसेवी कर्ण लामा, विकी थापा, विद्यार्थी नेता सूर्य बहादुर थापा, श्यामहरि चौंलागाई, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभूमि विकाश नेपालका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थाहा भएको छ  । चलचित्रमा निता ढुङ्गाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा, अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुँयाल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ लगायतको अभिनय रहेको छ भने सो चलचित्र जय मातृभूमि सिनेमा एण्ड कृयशन प्रा. लि. को ब्यानरमा सरिता महर्जनले निर्माण गरेकी हुन् ।