गीतकार योञ्जनद्वारा ५२ जना विपन्न विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति

अमेरिका निवासी, गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङले काठमाण्डौको बुढानिलकण्ठ, तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेतो र कालो), कापी, कलम लगायतका लागि ३  लाख ५ हजार ४ सय बराबरको छात्रवृत्ति उपलब्ध गराएका छन् ।

गत शैक्षिकसत्रमा ५२ जना विद्यार्थीलाई उपलब्ध गराइएको पूर्ण छात्रवृत्तिलाई चालु शैक्षिक सत्रमा पनि निरन्तरता दिईएको कुरा गीतकार योञ्जनले जानकारी गराएका छन् । उनले विगत ३ वर्षदेखि सो विध्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

गरिबीकै कारण बालबालिकाहरु पढ्न लेख्नबाट बञ्चित नहुन् भन्ने चाहना भएकोले आफूले सहयोग गरेको कुरा बताउँदै आफू सामुदायिक विद्यालयकै उत्पादन भएकोले पनि सामुदायिक विद्यालयमा पढ्न आउने केटाकेटीहरुको मनोविज्ञान र आर्थिक अवस्थाबारे राम्रो जानकारी रहेको कुरा योञ्जनले बताएका छन् ।

ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने वर्गका केटाकेटी अध्ययन गर्ने सामुदायिक विद्यालयमा यति ठूलो मात्रामा छात्रवृत्ति उपलव्ध गराउनु सामान्य सहयोग नभएको र यो हृदयदेखि नै  स्वागत योग्य काम भएको धारणा राख्दै गीतकार योञ्जनबाट आगामी दिनमा पनि निरन्तर यस प्रकारको सहयोग जुटने कुरामा आफू आशावादी रहेको विद्यालयका प्र.अ. बासुदेव थापाले बताएका छन्   ।