प्रस्तोता समाज नेपालको जेठ ११ गते सम्पन्न नवौं बार्षिक साधारण सभाले सर्वसम्मतिबाट शिव हमालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ l विधानको प्रावधान अनुसार ११ पद मध्ये अध्यक्ष बाहेकका १० पदाधिकारी सदस्यको रुपमा निर्वाचित भएका छन् भने निर्वाचित समितिको पहिलो बैठकले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरुको छनोट गर्ने छ l सुरुमा १८ जना उम्मेदवारको नाम दर्ता भई मतदान नै गर्नुपर्ने अवस्था सिर्जना भएको भएपनि लामो छलफलपछि राती अबेर सर्वसम्मत भएको हो l अध्यक्ष बाहेकका पदका लागि राई नवीन, भीषण मुकारुङ, जुनु रिजाल, प्रेम थापा, रामजी खाँड, बैकुण्ठ महत, बाबुराम बोहरा, महेन्द्र गौतम, राजा राजेन्द्र पोख्रेल र निर्णय श्रेष्ठ मनोनित भएका छन् l नयाँ समितिमा पुरानो कार्यसमितिबाट ६ जना दोहोरिएका छन् l
रामकृष्ण ढकाल संस्थापक अध्यक्ष रहेको यो संस्था २०६६ सालमा ‘गायन समाज’ को नामबाट नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो l सदस्यताको दायरा वृहत् गर्ने उद्देश्यले २०७० सालमा समाजको नाम परिवर्तन गरी ‘प्रस्तोता समाज’ राखिएपछि यसमा कला तथा सङ्गीत क्षेत्रका सबै विधाका प्रस्तोताहरुले सदस्यता लिने बाटो खुलेको थियो l समाजमा रामकृष्ण ढकालले २ कार्यकाल, हेमन्त शर्मा र तुलसी पराजुलीले अध्यक्षको रुपमा १ – १ कार्यकाल पूरा गरेका छन् भने शिव हमालको नेत्तृत्वले अब २ वर्षसम्म समाज हाँक्ने छ l समाजमा हाल ६ सय भन्दा केही बढी सदस्य रहेका छन् l