अपेक्षा र सुनिलको ‘सोल्टिनी’ लोकप्रिय बन्दै, युट्युबमा १८ लाख बढीको भ्युज

केटा – ठेकीमा पारेको मोही मीठो
           मायाले सारेको झन् मीठो
           ख्याल गर है सोल्टिनी
           पल्केला नि यो ठिटो

केटी – मदानी ढुङ्गेर घिऊ पारी
           यही बाटो हिँडे निहुँ पारी
           किन धाउँछौ सोल्टीज्यू
           दुनियाँलाई गाल पारी

अपेक्षा गिरी र सुनिल गिरीको स्वरमा रहेको लोकदोहोरी सोल्टिनीको भिडियो युट्युबबाट रिलिज भएको छ l भिडियो केहीदिन अघि Sunil Giri नामक युट्युब च्यानलबाट रिलिज भएको हो l सुनिल गिरीकै शब्द / सङ्गीतमा रहेको यो गीतको भिडियो दिपेन्द्र तिमल्सिनाको कोरियोग्राफी तथा निर्देशनमा भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा छायाङ्कन भएको थाहा भएको छ l जसमा पुष्प खड्का, अन्जली अधिकारी, हेरुका लामा र साथीहरुको नृत्य / अभिनय रहेको छ l भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् l यो समाचार लेखिरहँदा भिडियो युट्युबमा १८ लाख ३८ हजारपटक भन्दा केही बढी हेरिएको छ l जसलाई अत्यन्तै उत्साहजनक मान्न सकिन्छ l

करिव ५ बर्ष अगाडि नै गणेश ढकालको शब्द र राजन कार्कीको लयमा गणेश ढकालसँग आँशु बग्ने रैछ बोलको गीत गाएर औपचारिक सङ्गीत यात्रा सुरु गरेकी अपेक्षाले आधुनिक, लोकदोहोरी र तीजगीत गरी हालसम्म आधा दर्जन गीतमा स्वर दिएकी छिन् l ‘यो बीचमा पारिवारिक व्यस्तता र जिम्मेवारीका कारण सोचेजस्तो गरी सङ्गीतलाई समय दिन सकिनँ l अब भने निरन्तरता दिने सोचमा छु’ अपेक्षा भन्छिन् l आफ्नो गृहनगर चितवनको भरतपुरस्थित नेपाल म्युजिक फाउण्डेशनमा गुरु सुधारत्नसँग लगभग डेढबर्ष सङ्गीत सिकेकी अपेक्षाले केही समय स्थानीय बेसो टेलिभिजन मा समेत लोकभाकामा आधारित कार्यक्रम चलाएकी थिईन् l ‘यता राम्रा एरेन्जर, वाद्यवादक र स्टुडियो पनि छैनन् l गीत रेकर्डको लागि काठमाण्डौ नै जानुपर्ने वाध्यता छ l त्यसैले पनि काठमान्डौ बाहिर बस्ने हामीजस्ता कलाकारलाई अगाडि बढ्न निक्कै गाह्रो छ’ अपेक्षाले अठिनाईहरूबारे आफ्ना कुरा राखिन् l काठमाण्डौ टाढा भएपनि स्थानीय क्षेत्रमा आयोजना हुने साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेको कुरा उनले जानकारी गराएकी छिन् l

‘सोल्टिनी’ को भिडियो लिङ्क