समसामयिक कथावस्तुमा ‘कप्स’, जेठ १७ बाट देशैभर प्रदर्शनमा आउने

आर्या मुभिज र साराश्री मुभिजको संयुक्त व्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘कप्स’ यही जेठ १७ बाट देशैभर एकैसाथ रिलिज हुने भएको छ l लामो समयदेखि रङ्गमंच र सानो तथा ठूलो पर्दाको चलचित्रमा क्रियाशील रहँदै आएका कलाकार सम्राट सापकोटा ‘कप्स’ मार्फत पहिलोपटक निर्देशकको रुपमा दर्शकमाझ आउँदै छन् l यस चलचित्रका लेखक समेत रहेका सम्राट विगतमा आफूले अभिनय गरेको चलचित्र ‘आर्मी’ बाट प्रेरित भई यो चलचित्रको कथा तयार पारेको जानकारी गराउँदै अगाडि भन्छन् – ‘हाम्रो समाजका कतिपय मान्छेहरु प्रहरीप्रति सकारात्मक छैनन् l एक दुईजना खराब भए भन्दैमा संगठनलाई नै कदापि खराब सोच्नु हुन्न l संगठनभित्र त्यस्ता धेरै प्रहरीहरु पनि छन्, जो अहोरात्र देश र जनताको लागि निष्ठापूर्वक खटिरहेका छन् l आफैंले अभिनय गरेको चलचित्र ‘आर्मी’ सम्झिएँ l आर्मीको बिषयमा चलचित्र बन्छ भने प्रहरीको बिषयमा बन्न किन सक्दैन ? भन्ने लाग्यो र यो कथा लेखें l चलचित्रमा प्रहरीलाई सकारात्मक भूमिकामा देखाईएको छ l’

चलचित्रका लेखक तथा निर्देशक सम्राट सापकोटाका अनुसार ‘कप्स’ को प्रमुख भूमिकामा अनुपविक्रम शाहीले अभिनय गरेका छन् भने अन्य भूमिकामा रोशन सुवेदी, अनुपमा भण्डारी, सन्दिपा लिम्बू, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दू श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा आदि कलाकारलाई देख्न सकिन्छ l जसमध्ये अमित गिरी मुख्य खलपात्रको रुपमा रहेका छन् l ‘मुलुकको वर्तमान परिवेशसँग मिल्दोजुल्दो कथावस्तु भएको यो चलचित्र पब्लिक, पुलिस र पोलिटिक्सको वरिपरि घुमेको छ l ‘कप्स’ लाई म एक्शनप्रधान लभ स्टोरी पनि भन्न रुचाउँछु’ लेखक / निर्देशक सम्राट भन्छन् l

राम शाक्य यस चलचित्रका निर्माता हुन् भने चलचित्रमा सुशान्त प्रजापतीको छायाङ्कन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भूराज शाक्यको सङ्गीत, अष्ट महर्जनको द्वन्द्व निर्देशन र विपिन मल्लको सम्पादन रहेको छ l