एकल साँझमा सङ्गीतकार किरण

साँस्कृतिक संस्थानको आयोजनामा ‘किरण कँडेल एकल साँझ २०७६’ नामक साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ l लोकप्रिय सङ्गीतकार किरणको सङ्गीत यात्राको २५ औं बर्षको अवसरमा संस्थानले सो कार्यक्रमको आयोजना गरेको हो l कार्यक्रम जमलस्थित संस्थानको मिनी हलमा सम्पन्न भएको थियो l २५ बर्षदेखि सङ्गीतलाई नै मुख्य पेशाका रुपमा अंगाली कर्मशील रहेका किरण अब्बल कोटीका सङ्गीतकार, सङ्गीत संयोजक, स्टुडियो प्राविधिक र वाद्यवादकका रुपमा चिनिन्छन् l

संस्थानका अध्यक्ष उद्योग राईको अध्यक्षता एवं अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा संस्थानका महाप्रवन्धक राजेश थापा, सङ्गीत क्षेत्रका मुर्धन्य सर्जकहरु रत्नसम्शेर थापा, डा. कृष्णहरि बराल, हरिभक्त बुढाथोकी, जगतमर्दन थापा, दिनेश अधिकारी, सी. के. रसाईली, दीपक जंगम, गोपालनाथ योगी, अच्युतराम भण्डारी, धन बहादुर गोपाली, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो l

समारोहमा ‘मेरी जननी’, SOUND OF THE SOUL र ‘लगनगाँठो’ शीर्षकका तीन एल्बम विमोचन गरिएको थियो भने मनमोहन थपलिया, सुरज थापा, बानिका प्रधान, प्रविशा अधिकारी, जगतमर्दन थापा, रामभक्त जोजिजू, इतु जोजिजू, रामकृष्ण ढकाल, शिला विष्ट, अनुष्का पाठक र विपिन घिमिरेले किरण कँडेलद्वारा सङ्गीतवद्ध एकल – युगल गीत प्रस्तुत गरेका थिए l कार्यक्रममा किरण स्वयम्ले समेत आफ्नो सङ्गीतका केही गीत गाए l समारोहमा आफ्ना भनाई राख्दै साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले सबै गीतकार, सङ्गीतकार, गायक-गायिका, कवि, रङ्गकर्मी लगायतका सर्जक-कलाकारहरुलाई संस्थान सबैको साझा घर हो भन्ने महसुस होस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु नियमित आयोजना गरिंदै आएको बताएका छन् l