गजलमा गायिका टिका l यौवन, बासना, प्रेम र समर्पण भावको कलात्मक प्रस्तुति

तिमी साथ भएपछि भगवान पनि चाहिंदैन
मेरो रात जग्मगाऊ बिहान पनि चाहिंदैन

डान्सिङ् शैलीका गीतबाट चर्चामा रहँदै आएकी गायिका टिका प्रसाईं प्रणय भावको गजल तिमी साथ भएपछि को भिडियो लिएर आएकी छिन् l सुरेश वाग्लेको शब्दरचना, हरि लम्सालको सङ्गीत र गोपाल रसाईलीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोमा लोकप्रिय जोडी पल, आँचल र टिका स्वयम्को अभिनय रहेको छ l सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र निशान घिमिरेको सम्पादनमा तयार भएको यो भिडियो Nepali Website नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

शब्द, सङ्गीत र स्वरको अत्यन्तै सुन्दर सम्मिलन भएको यो गीत तथा भिडियोले सङ्गीतका असल दर्शक / श्रोताको हृदयमा शितलता त छर्छ नै, त्यसको अतिरिक्त गीतले गायिका टिकाको व्यक्तित्वलाई समेत नयाँ उचाई दिएको छ l ‘फाष्ट बिट’ का गीतमा उनलाई सबैले रुचाएकै हुन् l ‘तिमी साथ भएपछि’ सुन्दा यस्तो लाग्छ, ‘श्लो बिट’ नै उनको गलाले खोजेको शैली रहेछ र कहिल्यै नपोखिएको माधुर्यता यहाँ पोखिएको छ l यौवन, बासना, प्रेम र समर्पण भावको कलात्मक प्रस्तुति रहेको यस गीतका सङ्गीतकार हरि लम्सालको सिर्जनशीलताको पनि प्रशंसा नगरी रहन सकिन्न l बजारमा दिनहुँ धेरै गीत आउँछन्, आरबीटी र युट्युबमा चल्छन्, करोड क्लबमा पुग्छन् र गीतमा संलग्न सर्जक, कलाकार अनि लगानीकर्ताले पैसा कमाउँछन् l करोड क्लबमा नपुगोस्, आरबीटीमा नबजोस्, कसैको मोबाइलमा रिङ्टोन नबनोस्, डान्स पार्टी र पिकनिकहरुमा नघन्कियोस् तथापि यो गीतलाई नि:सन्देह यदाकदा आउने राम्रा गीतको सूचीमा राख्न सकिन्छ l आगामी दिनमा गजल गायनमा समेत निरन्तरता दिएमा नेपाली गजल गायिकाहरुको पङ्क्तिमा टिकाको नाम अग्र लहरमा हुने कुरा सहजै अनुमान गर्न सकिन्छ l

 

Video Link

https://www.youtube.com/watch?v=i_NwtHQzV1s