वियोगान्त गीतमा इन्दिरा

  • तुलसी गिरी ‘भावुक’

    गायिका इन्दिरा भट्टराईको स्वरमा रहेको आधुनिक गीत ‘तिमी हाँस्दा हाँसौंला’ को भिडियो भरखरै युट्युब च्यानलबाट सार्वजनिक भएको छ l भिडियो गायिका इन्दिराले आफ्नै युट्युब च्यानल ‘इन्दिरा म्युजिक एण्ड इन्टरटेनमेन्ट’ बाट सार्वजनिक गरेकी हुन् l वियोगान्त भावको यस गीतको भिडियोमा स्वार्थ पूरा भईसकेपछि अर्कै प्रेमिका खोज्ने धोकेबाज प्रेमीको चरित्र उजागर पार्ने प्रयास गरिएको छ l सुवास खनालको शब्दरचना, लाल बहादुर सुब्बाको सङ्गीत र सविन लिम्बूको सङ्गीत संयोजन रहेको यो गीतको भिडियो दीपक जोशीको निर्देशनमा तयार भएको हो l भिडियोमा दीपक जोशी र करिना श्रेष्ठको अभिनय रहेको छ l
    सुदूरपूर्वको रमणीय पहाडी जिल्ला तेह्रथुममा जन्मिएकी इन्दिराले आफ्नो गायन यात्रा भने सुदूरपश्चिमको लोकप्रिय साँस्कृतिक भाका देउडाबाट सुरु गरेकी थिईन् l देउडा र अन्य भाषाभाषी हुँदै पूर्वेली लोकजुहारी र आधुनिक गीत सम्मको गायन यात्रा आफूले कठिन सङ्घर्षबाट पार गरेको उनी बताउँछिन् l
    पिता वासुदेव भट्टराई र माता झलमाया भट्टराईका सात सन्तान मध्ये चौथो सन्तानका रुपमा जन्मिएकी इन्दिरा ३ भाइकी दिदी र ३ दिदीकी कान्छी बहिनी हुन् l उनी तीन बर्षको अलिलो उमेरमै स्कुलमा आयोजित साङ्गीतिक कार्यक्रममा नृत्यमा प्रथम भएकी थिईन् l सङ्गीतप्रतिको उनको झुकाव कस्तो र कहिलेदेखि थियो भन्ने कुरा यही घटनाबाट पनि सहजै अनुमान लगाउन सकिन्छ l अर्थात उनी कसैबाट प्रभावित भएर या कुनै सेलिब्रेटीको तामझाम देखेर यस क्षेत्रप्रति लोभिएकी हैनन् l उनी जन्मजात कलाकार हुन् l
    स्कुल, गाउँघर र चाडपर्वहरुमा आयोजना हुने कार्यक्रमका साथै मेलापात र उकाली ओरालीहरुमा गीत गाउँदै हुर्किएकी इन्दिरा एसएलसी पछि ०५६ सालमा उच्च शिक्षा र सङ्गीतको सपना बोकेर राजधानी प्रवेश गरेकी थिईन् l पद्मकन्याबाट आईए उत्तीर्ण गरेकी इन्दिराले राष्ट्रिय नाचघरमा १ बर्षे छात्रवृत्तिमा सङ्गीत सिकेकी थिईन् भने भारतको प्रसिद्ध सङ्गीत महाविद्यालय अलाहावादबाट सङ्गीतमै स्नातक सम्म गरेकी छिन् l उनले एकमात्र सरकारी रेडियो, रेडियो नेपालबाट लोक र आधुनिक दुबै विधामा स्वर परीक्षा उत्तीर्ण गरेकी छिन् l सङ्गीतका अतिरिक्त व्यवसायमा समेत सक्रिय रहँदै आएकी इन्दिराले ०६८ सालमा ‘उत्कृष्ट राष्ट्रिय महिला उद्यमी’ नामक सम्मान समेत प्राप्त गरेकी छिन् l ०५७ सालमा आयोजित क्याम्पसस्तरीय सङ्गीत प्रतियोगितामा दोस्रो स्थान हासिल गरी तत्कालिन रानी ऐश्वर्यबाट पुरस्कार ग्रहण गरेको क्षण आफ्नो जीवनकै एक अविस्मरणीय पल भएको उनी बताउँछिन् l
    सुदूरपूर्वको भएर पनि सुदूरपश्चिममा समेत लोकप्रिय रहेकी इन्दिराका ‘गैरी खेतकी रोपाईं’, ‘भदैया साली’ र ‘हजारिका माला’ शीर्षकका तीन देउडा भाकाका एल्बम प्रकाशन भएका छन् भने ‘लेक बेंसीका सुसेली’ { पूर्वेली लोकजुहारी }, ‘चेलीको व्यथा’ { तीज }, र ‘माइक्रो बसैमा’ { लोकदोहोरी } जस्ता एल्बमले पनि उनलाई राम्रै चर्चामा ल्याएका थिए l उनले फुटकर रुपमा समेत थुप्रै आधुनिक गीतमा स्वर दिएकी छिन् l

Video Link

SUBSCRIBE 👉
SUBSCRIBE 👉
SUBSCRIBE 👉