लाईफटाइम लिजेण्ड्री अवार्ड, रजत सम्मान र पत्रकारिता पुरस्कारको घोषणा, समारोह बैशाख २१ मा आयोजना हुने

आगामी बैशाख २१ गते काठमाडौंमा आयोजना हुने ११औं ‘ईएनआई छायाछवि डि. सिने अवार्ड – ०७६’ का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको कुरा थाहा भएको छ । अवार्ड आयोजक संस्था ‘छायाछवि क्रिएशन’ का अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ती मार्फत सो कुरा जानकारी गराएका  हुन् ।

प्राप्त जानकारी अनुसार यस वर्षको छायाछवि लाईफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । सो अवसरमा करिव तीन दशकदेखि आधुनिक गीत गायन तथा मूलत चलचित्र पार्श्व गायन गर्दै आएकी गायिका देवीका वन्दना र विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान – ०७६’ बाट सम्मान गरिने छ भने विगत ३ दशकदेखि रङ्ग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुने छन् ।

‘छायाछवि लाईफटाइम लिजेण्ड्री अवार्ड – ०७६’ बाट सम्मानित हुन लागेका नीर शाहले धेरै चलचित्रका प्रभावशाली चरित्रमा अभिनय गरेका छन् भने उनी वसन्ती, राजमती, सेतोबाघ जस्ता अब्बल चलचित्र निर्देशक समेत हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं चलचित्रमा सक्रिय नीर शाह अब्बल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् । ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान – ०७६’ (महिला) बाट सम्मानित हुँदै गरेकी देविका वन्दना चलचित्र पार्श्व गायनमा सुपरिचित कलाकार हुन् । ‘यस्तै रहेछ यहाँको चलन…’ बोलको आधुनिक गीतबाट आफ्नो नाम स्थापित गराए पनि उनी पार्श्व गायिकाका रुपमा नै सक्रिय कलाकार  हुन् । उनका थुप्रै चलचित्र गीत हिट छन् ।

यस्तै ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान – ०७६’ (पुरुष) बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत उम्दा निर्देशकका रुपमा चिनिन्छन् । राजकुमार नामक चलचित्रबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले ०७६ सम्म आईपुग्दा २९ चलचित्रको निर्देशन गरिसकेका छन् ।

यसैगरी ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार – ०७६’ बाट पुरस्कृत हुँदै गरेका रङ्ग पत्रकार हुन् अनन्त वाग्ले । २०४७ सालमा माधुरी नामक पत्रिकाबाट रङ्ग पत्रकारिता प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै अहिले अन्नपूर्ण पोष्टमा मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् ।

११औं ‘ईएनआई छायाछवि डि. सिने. अवार्ड – ०७६’ का अवसरमा प्रदान गरिने सम्मान एवं पुरस्कार अन्तर्गत ‘छायाछवि लाईफटाइम लिजेण्ड्री अवार्ड’ पाउने व्यक्तिलाई नगद रु.२५,०२५।– सहित प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिने छ भने ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान – ०७६’ बाट सम्मानित हुने व्यक्तिलाई  प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान अर्पण गरिने छ । यस्तै ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुने व्यक्तिलाई  नगद रु.११,१११।– सहित प्रमाण–पत्र एवं दोसल्लाले सम्मान गरिने कुरा आयोजक संस्था छायाछविका अध्यक्ष शान्तिप्रियले जानकारी गराएका  छन् ।