१ सय ३० औं श्रमिक दिवसमा साङ्गीतिक कार्यक्रम, वाद्यवादन र गायनका वेजोड प्रस्तुतिहरू

१ सय ३० औं विश्व श्रमिक दिवसको अवसरमा साँस्कृतिक संस्थानले’ शुभकामना साँझ’ नामक साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ l कार्यक्रम जमलस्थित संस्थानको मिनी हलमा सम्पन्न भएको हो l संस्थानका अध्यक्ष उद्योग राईको अध्यक्षता एवं वरिष्ठ सेक्सोफोनवादक शुभ बहादुर सुनामको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो l समारोहमा संस्थानका महाप्रवन्धक राजेश थापा, वरिष्ठ नाटक प्रवन्धक प्रभाकर शर्मा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l
कार्यक्रमको सुरुमा उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको रुपमा केहीदिन अघि मात्र सम्मानित वरिष्ठ सितारवादिका सीतामैया राजचलको प्रस्तुति रहेको थियो l सीतामैयाको प्रस्तुति पछि विपिन घिमिरे, आकाश थापा, शिला विष्ट, राधिका भण्डारी, भविन ढुङ्गाना, दिवाकर शर्मा, लालकाजी श्रेष्ठ, राधिका भण्डारी, तीर्थराज पोखरेल र कृष्ण गुरुङले एक एकवटा गीत प्रस्तुत गरेका थिए भने विपिन घिमिरे र शिला विष्टले एउटा युगल गीत गाएका थिए l 

समारोहमा वरिष्ठ बाँसुरीवादक दुर्गा प्रसाद खतिवडाको नेपालमा खासै प्रचलनमा नरहेको मेटल बाँसुरीको धुन र विश्व कीर्तिमानी सीतामैयाको सितार धुन कार्यक्रमको विशेष आकर्षणको रुपमा रहेका थिए l

संस्थानले विगत एक बर्षदेखि हरेक महिनाको अन्तिम बिहिबार ‘सुर साधना’ शीर्षक अन्तर्गत नि:शुल्क प्रवेशको व्यवस्था सहित साङ्गीतिक कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ l  प्रतिभा भएर पनि आर्थिक लगायतका विविध कारणले एकल प्रस्तुति दिन नसकेका कलाकारहरुलाई संस्थानले प्राविधिक सुविधा सहित नि:शुल्क स्टेज समेत उपलब्ध गराउंदै आएको छ l श्रमिक दिवसका अवसरमा आयोजित यो कार्यक्रमलाई यही ‘सुर साधना’ शृंखलाको साङ्गे समेत भनिएको थियो l तथापि वक्ताहरुले यसको निरन्तरताको कामना गरेका छन् l कार्यक्रममा ‘सुर साधना’  शृंखलासँग सम्बन्धित गायक गायिकाहरुले नै प्रस्तुति दिएका थिए l

साँस्कृतिक संस्थानले संस्थान बाहिर रहेका सर्जक-कलाकारहरुको समेत सहभागिता-संलग्नता रहनेगरी लामो समयदेखि निरन्तर विविध किसिमका साङ्गीतिक एवं साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी संस्थान हामी सबैको साझा घर हो भन्ने महसुस गराएको छ l समग्र नेपाली कला क्षेत्रले संस्थानका महाप्रवन्धक राजेश थापा र नाट्य विभाग प्रमुख प्रभाकर शर्माको यस प्रकारका अपूर्व कार्यको प्रशंसा गरिरहेका छन् l ‘शुभकामना साँझ’ नामक यो कार्यक्रम लोकप्रिय गीतकार एवं संस्थानकै कर्मचारी रमेश बि. जि. ले संचालन गरेका थिए l

Program Video