सुनिताको ‘सुनमाला’ सार्वजनिक, ‘ए मेरो परदेशी’ भिडियोमा

गायिका सुनिता कार्कीको एकल गीतसङ्ग्रह ‘सुनमाला’ औपचारिक रुपमा सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी प्लसका प्रमुख मनोहरि थापा, गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी बस्नेतले सो गीतसङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका थिए । म्युजिक नेपालको प्रस्तुति रहेको यस गीतसङ्ग्रहमा एउटा शब्दरचना बाहेक लोकप्रिय सङ्गीतकार सुरेश अधिकारीको शब्द/सङ्गीत रहेको छ ।

गीतसङ्ग्रह सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेश सबै गीतहरु प्रस्तुत गरेकी थिइन् । गीतसङ्ग्रह ‘सुनमाला’ मा ‘दुनियाँमा…’, ‘शितल हिमाली हावा…,’ ‘साथी नै चाहिँदा…’, ‘सिरसिर सिरिरि…’ र  ‘ए मेरो परदेशी…’ गरी पाँचवटा गीत समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियाँमा बोलको गीत भने विद्या घिमिरेले रचना गरेकी हुन् ।

एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास…’ बोलको गीत बजारमा आएको थियो । सो गीत इमेज अवार्डमा उत्कृट ५ को नोमिनेशनमा समेत पर्न सफल भएको थियो । सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यसअघि सुनिताले ‘कहिले हार कहिले जीत…’ बोलको साङ्गीतिक सहकार्य गरेकी थिइन् भने ‘सुनमाला’ दोस्रो सहकार्य हो ।

एल्बमका गीत मध्ये ‘ए मेरो प्यारो परदेशी’ को भिडियो निर्माण भएको छ । जोयस पाण्डेले निर्देशन गरेको यस भिडियोमा लक्ष्मी, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ । भिडियोमा विशाल प्रजापतीको छायाङ्कन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

Video Link