‘डान्स मन्त्र एकेडेमी’ को उद्घाटन, नृत्य – अभिनय र स्क्रिप्ट लेखन सिकाईने

लेखक, निर्देशक तथा कलाकार ओम प्रतीकले ‘डान्स मन्त्र एकेडेमी अफ पर्फमिङ आर्ट्स’ नामक कला इन्स्टिच्युटको शुभारम्भ गरेका छन् । प्रमुख अतिथिका रुपमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले रिवन काटेर सो इन्स्टिच्युटको औपचारिक उद्घाटन गरेका छन् ।

औपचारिक शुभारम्भ पश्चात संचालक ओम प्रतीकले कलाकारितामा नै केही शिक्षा दिन सकुँ भन्ने उद्देश्यले सो इन्स्टिच्युट संचालनमा ल्याएको कुरा जानकारी गराएका थिए । कलाकारितामै जीवन समर्पण गरिरहँदा नव प्रतिभाहरुलाई पनि प्रशिक्षण दिएर दक्ष बनाउनका लागि इन्स्टिच्युटले भरपुर प्रयास गर्ने कुरा समेत संचालक प्रतीकले बताए ।

कार्यक्रमका प्रमुख अतिथि केशव भट्टराईले कलाकारितामै जीवन समर्पित गरेका ओम प्रतीकको कार्य प्रशंसनीय रहेको विचार राखेका थिए । उनले कला क्षेत्रमा लाग्न चाहनेहरुका लागि डान्स मन्त्रले टेवा पुर्याउने विश्वास व्यक्त गर्दै  शुभकामना समेत दिएका थिए ।

डान्स मन्त्रमा रुमी गुरुङ निर्देशक रहेकी छिन् भने डी.आई.डी. हुँदै नेपालमा पनि धेरै समूहहरुमा नृत्य निर्देशकको रुपमा काम गरिसकेका सुरज प्रधानले कोरियोग्राफरको जिम्मेवारी पूरा गर्ने छन् । सुरज प्रधान दुबईमा समेत नृत्य निर्देशकको रुपमा काम गरिसकेका अनुभवी निर्देशक हुन् ।

डान्स मन्त्रमा हिपहप, क्लासिकल, कल्चरल, एरोबिक, फ्री स्टाइल, कन्टेम, साल्सा, जुम्बा लगायतका नृत्य कक्षाहरु संचालनमा रहेको थाहा भएको छ । गोपीकृष्ण हलको अगाडि रहेको यस डान्स इन्स्टिच्युटमा अभिनय र स्क्रिप्ट लेखनका कक्षाहरु पनि संचालन हुने कुरा ओम प्रतीकले बताए ।