प्रसिद्ध सङ्गीत साधक बि. बि. का गीत अब पुस्तकमा

प्रसिद्ध सङ्गीतकार, सङ्गीत संयोजक, गीतकार, गायक तथा वाद्यवादक बि. बि. अनुरागीले भरखरै ‘तिम्रै झल्को’ शीर्षकको गीत सङ्ग्रह प्रकाशन गरेका छन् l १ सय २४ गीत सङ्ग्रहित यो पुस्तक बि. बि. अनुरागी सङ्गीत सेवा समाजले प्रकाशन गरेको हो भने पुस्तकको मूल्य रु. ३ सय राखिएको छ l

विविध भावका गीत समावेश भएको यस पुस्तकमा प्रेमवियोग, प्रेमसमर्पण, प्रकृति प्रेम, जीवनदर्शन, देशभक्ति, तीज, बाल, भूकम्प, शहीदप्रति समर्पित आदि भावका गीत रहेका छन् l पुस्तकका गीतमा कतै भाग्यवादी भावनाहरु त कतै जातीय विभेदबाट उत्पन्न पीडाहरु समेत पढ्न पाइन्छ l एकलदेखि युगल र आधुनिकदेखि लोक तथा दोहोरी गीतले पुस्तकलाई एउटा सुन्दर फूलबारी झैं रङ्गीचङ्गी बनाएका छन् l पुस्तकमा रेकर्ड नभएका र रेकर्ड भई धेरै लोकप्रिय भएका गीत समेत समावेश गरिएको छ l ‘तिम्रै झल्को’ बि. बि. अनुरागीको पहिलो पुस्तक कृति हो l

लामो समयदेखि सङ्गीत क्षेत्रका प्रमुख सबैजसो विधामा सक्रिय रहँदै आएपनि अनुरागीको प्रमुख  विधा भने सङ्गीत र सङ्गीत संयोजन नै हो l तस्बीर, आभार, शीरिष, लक्ष्य, फूल, मोहनी, निरमाया, आकर्षण, विकल्प, शुभयात्रा, रामकसम, तरङ्ग, तरङ्ग-२, संकल्प, समय, दूरी, साक्षी, सगुन, वहार, मेरी पियारी लगायत तीन दर्जन भन्दा बढी एकल सङ्गीतका एल्बम प्रकाशन गरिसकेका अनुरागीले सबै विधाका गरी दुई हजार भन्दा बढी गीतमा सङ्गीत दिएका छन् l आधुनिक, लोकदोहोरी, पप, भजन, चलचित्र लगायत नेपालका सबैजसो शैली र भाकाका गीतमा म्युजिक एरेन्ज गरिसकेका बि. बि. ले बाटुली, जीवनलिला, गोर्खा पल्टन, नागबेली, निसानी, दृष्टिकोण, परदेशी लगायत डेढ दर्जन चलचित्रका गीतमा समेत सङ्गीत गरेका छन् l युवा उमेरमै पिता रामलाल विश्वकर्माको काँध गुमाएका बि. बि. आमा पवित्रा रसाईलीको माया, प्रेरणा र हौसलाको उर्जा बोकेर लामो समयको कठिन सङ्घर्षबाट आज एक उदाहरणीय सङ्गीतकर्मी मात्र बनेका छैनन् उनले आफ्नो समग्र परिवारलाई नै एउटा घरानाको रुपमा अगाडि बढाईरहेका छन् l