विविध भावमा सुनिताको ‘सुनमाला’ सार्वजनिक

सुनिता कार्कीको एकल स्वरमा रहेको गीत सङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुतिमा रहेको यस एल्बममा लोकप्रिय सर्जक सुरेश अधिकारीका चारवटा र विद्या घिमिरेको एउटा शब्दरचना रहेका छन् भने सुरेश अधिकारीले एकल सङ्गीत  दिएका छन् । एल्बममा दुनियाँमा, शितल हिमाली हावाजस्तै, साथी नै चाहिँदा, शिरशिर सिरिरि र माता आउँदिन बोलका गीत  समावेश छन् । 
लगभग एक दशकअघि सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा ‘कहिले हार कहिले जीत’ बोलको गीतबाट साङ्गीतिक यात्रा सुरु गरेकी सुनिताको यसअघि ‘ए बतास’ बोलको गीत बजारमा आएको थियो । ‘सुनमाला’ एल्बम सुरेश अधिकारी र सुनिताको   दोस्रो सहकार्य हो ।

खोटाङमा जन्मिएकी सुनिताले करिव चारवर्ष ललितकला क्याम्पसमा सङ्गीत सम्वन्धी अध्ययन गरेपछि रेडियो नेपालबाट  स्वर परीक्षा उतीर्ण गरेकी थिईन् । उनी चार दिदीबहिनी मध्येकी  जेठी छोरी हुन् । पारिवारिक सहयोगकै कारण पनि गायन क्षेत्रमा अगाडि बढ्न सहज भएको उनी बताउँछिन् ।

‘सुनमाला’ एल्बम विगत पाँच वर्षदेखिको मेहनत भएको उनले जानकारी गराएकी छिन् ।  मायाप्रेम र देशप्रेमका साथै प्राकृतिक सौन्दर्यलाई समेत समेटेर गीत तयार गरिएकोले यस एल्बमका गीत श्रोताको लागि सुनकै माला सावित हुने कुरामा आफू आशावादी रहेको कुरा उनी व्यक्त गर्छिन् । लोक, आधुनिक र भजन गरेर करिव दुई दर्जन गीतमा स्वर दिईसकेकी सुनिताको यस एल्वमका गीतले श्रोताको मन जित्ने कुरामा आफू आशावादी रहेको कुरा एल्बमका गीतकार तथा  सङ्गीतकार सुरेश अधिकारीले समेत बताएका छन् ।

प्राप्त जानकारी अनुसार एल्बममा समावेश गीतहरु म्यूजिक नेपालको एप मार्फत सुन्न सकिने छ भने ‘शीतल हिमाली’ बोलको गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको यु ट्युव च्यानलमा अपलोड भईसकेको छ ।

Video Link