विद्यालयको चारकोठे पक्की भवन हस्तान्तरण

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखा जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरुले बताएका छन् । भूकम्पपछि थिलथिलो बनेको गोरखामा ढकालकै पहलमा पहिलोपटक जागेश्वर उच्च मा.बि.को आठकोठे पक्कि भवन निर्माण गरिएको थियो । करिव एक करोड लगानीमा एकबर्ष भित्रमा नै विद्यालय भवन निर्माण गरिएको थियो । ढकालको पहलमा गोर्खा जिल्लामा मात्रै एक दर्जन भन्दा बढी पुस्तकालय तथा विद्यालय भवनहरु निर्माण भएका छन् ।

गोरखा जिल्लाका नेता रहेका ढकाल शुक्रबार पनि विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थिए । उनकै पहलमा निर्माण भएको भीमसेन गाउँपालिका  ८, गोर्खास्थित श्री भवानी प्राथमिक विद्यालयको ४ कोठे पक्कि भवन गाउँपालिकाका दुई वडा अध्यक्षको उपस्थितिमा हस्तान्तरण गरिएको छ । विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भूकम्पको कारण विद्यालयको पुरानो भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको र विद्यार्थीहरु खुला आकाशमुनी अध्ययन गर्न बाध्य रहेको दृश्य हेर्न नसकी भवन निर्माण गरेको बताएका छन् ।

२०४५ सालमा स्थापना भएको विद्यालय भवन भुईंचालो पश्चात टहरामा सञ्चालन गरिएको थियो । भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ र अन्य दाताहरुको सहयोगबाट निर्माण भएको भन्दै ढकालले आफूले समन्वयकारी भूमिका मात्र खेलेको स्पष्ट पारे ।  उनले विद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको विकासमा आफू सदैव लागिरहने बताए । भीमसेन गाउँपालीका ७ का वडा अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बासु थापाले अध्यक्ष ढकालले गोर्खा जिल्लाको शैक्षिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गरे । उनीहरुले ढकालले आफ्नो गाउँको नाम विश्वमा परिचित गराएको भन्दै भीमसेन थापा जन्मेको स्थानमा सङ्ग्राहलय निर्माण गर्नको लागि पहल गरिदिन समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व डीआइजी डा. श्याम नेपाल, परिवार दलका प्रवक्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्री र  विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीले विद्यालय भवन बनेपनि यसमा चाहिने फर्निचर, शौचालय लगायतको अझै अभाव रहेको बताए । ३३ लाख रुपैयाको लगानीमा भवन निर्माण गरिएको थाहा भएको छ ।

अध्यक्ष ढकालले सरस्वती मा.वि. जागेश्वर उच्च मा.वि. लगायत विद्यालयको शैक्षिक बिकासको बारेमा विद्यालय  व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरुसँग समेत अन्तरक्रिया गरेका थिए । ढकालले कार्यक्रममा बोल्दै नेपालको शैक्षिक स्तर उकास्न विद्यालयहरुको भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिए । उनले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुद एकजुट भएर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए । अध्यक्ष ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरी स्थानीयहरुसँग अन्तरक्रिया तथा निर्माणाधिन योजनाहरुको अवलोकन  गरेको कुरा दलका अध्यक्ष रविन्द्र थापाले जानकारी दिए ।