पहिलो भिडियोबाट नै चर्चामा, छोटो समयमै व्यावसायिक मोडल

  • तुलसी गिरी ‘भावुक’ -सङ्गीत क्षेत्र डिजिटल युगमा प्रवेश गरेसँगै भिडियो बिनाका गीत छायामा पर्दै गए l डिजिटलमा पनि युट्युब युग सुरु भएपछि त झन् भिडियो अनिवार्य जस्तै बन्दै गएको छ l जसले गर्दा नेपाली म्युजिक भिडियोको क्षेत्र पनि छोटो समयमा यति विस्तारित भएर गयो कि अहिले हजारौं सर्जक, कलाकार र प्राविधिक म्युजिक भिडियोको क्षेत्रमा व्यावसायिक मात्र भईरहेका छैनन्, संसारभर लोकप्रिय छन् र लोभलाग्दो कमाई पनि गरिरहेका छन् l भिडियोमा पनि सबैभन्दा आकर्षक विधा मोडलिङ हो l

नयाँनयाँ लोकेशनमा घुम्न पाइने, छिट्टै काम सकिने, पारिश्रमिक एकमुष्ठ हुने, कामको नतिजा छिटो आउने, सेलिब्रेटी हुन समय नलाग्ने र थोरै समयमा आकर्षक कमाई हुने जस्ता कारणले गर्दा भिडियो मोडलिङलाई ठूलो पर्दाको चलचित्र भन्दा धेरै आकर्षक पेशाको रुपमा हेर्न सकिन्छ l रोमान्ससँगै नाम र दाम कमाईरहेका नेपाली म्युजिक भिडियो मोडलहरुको भीडमा एउटा सफल नाम हो करिश्मा ढकाल l

पुर्ख्यौली घर गोर्खाको मुच्चोक भएपनि काठमाण्डौमै जन्मे – हुर्केकी करिश्मा पिता पदमराज ढकाल र माता गोमा ढकालको २ छोरा पछिकी एक्ली छोरी हुन् l ‘सानैदेखि डान्सप्रति रुची भएपनि मेरो एकाउन्ट राम्रो भएकोले सीए पढ्छु भन्ने सोच थियो l स्कुल पढ्दैगर्दा सानोबुबा { सङ्गीतकार श्रीकृष्ण बम मल्ल } लाई म्युजिक भिडियो खेल्छु भनेकी थिएँ l उहाँले एसएलसी पछि मौका दिउँला भन्नुभएको थियो l २०७२ सालमा पहिलोपटक तीजगीत ‘सेल्फी सेल्फी’ मा मोडलिङ गर्ने मौका पाएँ l लक्ष्मी मल्ल र वसन्त थापाको स्वरमा रहेको सो गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा निर्माण भएको थियो l मैले दुर्गेश थापासँग नृत्य गरेकी थिएँ l भिडियो धेरै राम्रो चलेपछि अफरहरु आउन थाले र म लगातार व्यस्त बन्दै गएँ l म योजनावद्ध यस क्षेत्रमा लागेकी थिईन l तर एकपछि अर्को गीत चल्दै गएपछि र व्यस्तता बढ्दै गएपछि यो क्षेत्र छाड्न पनि सकिन’ करिश्माले मोडलिङमा परिवेश बारेका आफ्ना कुराहरु बेलिबिस्तार लाईन् l ‘सानोबुबा श्रीकृष्ण बम मल्ल र सानीआमा लक्ष्मी मल्लको सहयोगले गर्दा म सङ्घर्ष बिना नै यस क्षेत्रमा स्तापित भएँ l यो मामलामा म आफूलाई भाग्यमानी पनि ठान्छु’ उनी भन्छिन् l भिडियो मोडलको रुपमा स्थापित हुनका लागि सर्जक-कलाकार वसन्त थापाको सदासयतापूर्ण भूमिकालाई पनि उनले आदरका साथ सम्झन चाहिन् l भिडियो मोडलिङ सँगसँगै पढाईलाई पनि निरन्तरता दिईरहेकी करिश्मा हाल स्नातक अध्ययन गरिरहेकी छिन् l

उनीद्वारा अभिनित ‘सेल्फी सेल्फी, उही खोलीको पानी, गुन्द्रुक मीठो सागको, अमिलो रसैले, नाच मेरी झुमा, भुन्टी, लाहुरेकी छोरी, ए राजा’ लगायतका गीतका भिडियो धेरै लोकप्रिय भएका छन् l नृत्य गुरु नभएपनि अदभूत प्राकृतिक क्षमताकै कारण नृत्यप्रधान भिडियोका लागि धेरैको रोजाईमा पर्ने गरेकी करिश्माले धेरैजसो लोकदोहोरी र केही आधुनिक गीतका भिडियोमा आफ्नो कला प्रस्तुत गरेकी छिन् l हालसम्म लगभग १ हजार भिडियोमा मोडलिङ गरिसकेको बताउँदै उनी भन्छिन् – ‘तीजको मौसम हाम्रो लागि पर्व जस्तै हो l त्यो बेला रातदिन शुटिङमा व्यस्त भईन्छ l दिन र रात गरेर ५ वटा सम्म भिडियोमा खेलेकी छु l एउटा तीजको सिजनमा मात्र ७० – ७५ भिडियोमा नाचेकी छु l’ आफ्नो कला प्रस्तुतिका लागि अन्तर्राष्ट्रिय मुलुक भारत, दुबई र मलेशियासम्मको यात्रा गरेकी करिश्माले आफ्नो विधामा ओएस अवार्ड [२ पटक ], नेपाल म्युजिक अवार्ड, सगरमाथा अवार्ड, लोकदोहोरी अवार्ड, विन्ध्यवासिनी अवार्ड र सुन्दरादेवी अवार्ड प्राप्त गरेकी छिन् l कुशल प्रतिभाका कारण प्रवेश गरेको छोटो समयमै व्यावसायिक मोडेलको रुपमा स्थापित भएकी करिश्मा ढकाल बिना योजना रहरै रहरमा यो क्षेत्रमा प्रवेश गरेकी भएपनि भिडियो मोडलिङ उनको जीवनको अभिन्न अङ्ग बनिसकेको छ l