वेष्ट कलेक्शन भीसीडीमा निर्मल, हङ्कङबाट फर्किए लगत्तै लिम्बू भाषामा अर्को भिडियो

लोक तथा लोकजुहारी, लिम्बू भाषा, आधुनिक र लोकपप गरी साँढे २ दर्जनजति गीत रेकर्ड गरिसकेका गायक निर्मल सुब्बाले भरखरै आफ्ना १० बेस्ट भिडियोहरुको कलेक्शन डिभिडि सार्वजनिक गरेका छन् भने हालैका दिनमा उनको स्वरमा लिम्बू भाषाका २ वटा गीत पनि रेकर्ड भएका छन् । निर्मलले ताप्लेजुङ घर भई हाल हङकङ निवासी मोडल भीम तुम्बाहाङफे लिम्बूको पहिलो प्रस्तुति र अभिनय रहेको लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’ मा ‘तरेमे चासोक तङ्नाम ओ चुमिरो’ बोलको गीत समेत गाएका छन् । लिम्बू समुदायमा निकै लोकप्रिय भएको यस गीतमा उनलाई लक्ष्मी योङ्हाङले स्वरमा  साथ दिएकी छिन् । जसमा हर्कबहादुर योङ्हाङ लिम्बूको शब्द र अशोक लोहरुङ राईको सङ्गीत संयोजन रहेको छ । चलचित्र लोकेन सावाको निर्देशनमा निर्माण भएको हो । यो गीत स्रोताले धेरै मन पराएकोले बिभिन्न ठाउँका कार्यक्रमहरुमा प्रस्तुत गर्ने गरेको कुरा निर्मल बताउँछन् l उनी भन्छन्- ‘सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।

गायक निर्मल भर्खरै मात्र हङकङमा साङ्गीतिक कार्यक्रम सम्पन्न गरेर स्वदेश फर्किएका छन् l तुलनात्मक रुपमा व्यावसायिक महत्व कम भएपनि आफ्नो मातृ भाषाका गीत गाउन सधैं उत्सुक रहने निर्मलले हङकङबाट नेपाल फर्किए लगत्तै श्रेयशी चेम्जोङ लिम्बूको साथमा लिम्बू भाषाको अर्को युगल गीत ‘मिम्जिरे पानहा पात्छि ना पकन्दी चानु वासि ना’ समेत रेकर्ड गरेका छन् l यो गीतको पनि भिडियो निर्माण भईसकेको र छिट्टै युट्युबबाट रिलिज गरिने कुरा पनि उनले जानकारी गराएका छन् । जुन गीतको शब्दरचना कल्पना आङ्बुहाङको र सङ्गीत संयोजन अशोक  लोहरुङ राईकै रहेको कुरा निर्मलले जानकारी गराए ।