११ औं ई. एन. आई. छायाछवि डी. सिने. अवार्ड काठमाण्डौमै आयोजना हुने, जुरीले चलचित्र हेर्न थाले

विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको ‘ई. एन. आई. डी. सिने अवार्ड – ०७५’ को एघारौं संस्करणका लागि जुरीले चलचित्र हेर्ने काम सुरु भएको छ । नेपाली चलचित्र उद्योगकै इतिहासमा पहिलोपटक १० औं फिल्मी अवार्ड गर्न सफल ‘ई.एन.आई.छायाछवि डी. सिने अवार्ड’ को ११ औ संस्करणका लागि चलचित्र दर्ता सँगसँगै निर्णायकहरुले हेर्ने काम पनि सुरु गरिएको हो । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै ‘ई. एन. आई. छायाछवि डी. सिने अवार्ड’ आयोजना हुने गरेको छ ।

२०६६ सालबाट प्रारम्भ भएको यो अवार्ड मुख्यतया डिजिटल फर्म्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिए पनि समयको परिवर्तन सँगसँगै चलचित्रहरु पूर्णत: डिजिटल हुन पुगेपछि स्वतः डीजिटल फर्म्याटका चलचित्रहरुले सहभागिता जनाउँदै आएका छन् । पूँजीले मात्र होइन प्रविधिबाट पनि चलचित्रको गुणस्तर विकाश गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी. सिने अवार्डको आयोजना गर्ने गरिएको कुरा अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । विगतका वर्षहरुमा उपत्यका बाहिर समेत आयोजना गर्ने गरिएको एकमात्र यो अवार्ड यसपटक पुनः काठमाडौंमै गरिने पनि प्रियले जानकारी गराए ।

यसवर्ष प्रदर्शन भईसकेका र भईरहेका ९४ चलचित्रहरुले ‘ई. एन. आई. छायाछवि डी. सिने अवार्ड – ०७५’ मा सहभागिता जनाईरहेका छन् । ९४ चलचित्रलाई ‘प्रि-जज’ बाट सिफारिस गरिएपछि मात्र निर्णायकहरुले चलचित्र हेरिरहेका छन् । वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा वरिष्ठ पत्रकार – निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपालकै पहिलो महिला छायाकार सवनम मुखिया रहेका छन् ।

नेपालकै प्रतिष्ठित एवं विश्वसनीय अवार्डका रुपमा हेरिने गरिएको ‘ई. एन. आई.  छायाछवि डि. सिने अवार्ड – ०७५’ यसपटक आगामी बैशाख २१ गते काठमाडौंमै आयोजना गरिने आयोजक संस्था छायाछविले जनाएको छ । अवार्डको मुख्य प्रायोजक एस. टी. सी. ग्रुप अन्तरर्गतको ई. एन. आई.  लुब्रिकेन्टस् रहेको छ ।

यसअघि डी. सिने अवार्ड पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय नाचघर जमलमा, चौथो, पाँचौं र छैठौं नेपाल प्रज्ञा प्रतिष्ठानमा, सातौं कार्की वैंकट बवरमहलमा, आठौं ग्राण्ड होटल पोखरामा, नवौं ओम सिनेमा हेटौंडामा, दशौं राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भएका थिए भने ११ औं पनि काठमाडौंमा नै हुने निश्चित भएको छ ।