‘द डार्क एण्ड लाइट’ को शुभमुहूर्त सम्पन्न

खालिङ सिस्टर्स मुभिज प्रा.लि. को ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ को  शुभमुहूर्त सम्पन्न भएको छ । पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा चलचित्रको क्यामरा पूजा गर्दै शुभमुहूर्त गरिएको हो । त्यस क्रममा चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नरिवल फुटाएर शुभमुहूर्त भएको घोषणा गरेका थिए । चलचित्रमा राजु अर्याल मुख्य निर्देशकको रुपमा रहने छन् भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले पनि निर्देशनमा सहयोग गर्ने छन् ।

वृद्धाश्रममा आश्रित वृद्ध – वद्धाहरुलाई खाना खुवाउने कार्यक्रम सहित गरिएको शुभमुहूर्त समारोहमा चलचित्रकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले चलचित्रको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको सङ्गीत छ । मुहूर्त समारोहमा गीतकार राजेन्द्र थापाले चलचित्रका लागि शुभकामना दिंर्दै आफूले चलचित्रका लागि जनजिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए । मुख्य निर्देशक राजु अर्यालले चलचित्रको विषयवस्तुका बारेमा प्रकाश पार्दै हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्ष र तिनका प्रभावलाई उजागर गर्ने प्रयास गरिएको जानकारी गराए  ।

चलचित्रका प्रस्तुतकर्ता,निर्देशक तथा अभिनेता पिटर खालिङले यो चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान हुने धारणा व्यक्त गरे । गायिकाको रुपमा स्थापित भईसकेकी सरस्वती लामाले यही चलचित्रमार्फत पार्श्व गायनका साथै अभिनय र निर्देशनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।

चलचित्रमा पिटर खालिङ र सरस्वती लामा सहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदि कलाकारहरुले मुख्य भूमिका निर्वाह गर्दै छन् । मुहूर्तकै दिनदेखि फ्लोरमा गएको यो चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन र सविन भट्टराईको  छायाङ्कन रहने थाहा भएको छ । चलचित्रका अन्य गीतमा प्रताप दास र मेलिना राईको गायन रहने बताइएको छ । एक महिनाको सेड्यूलमा छायाङ्कन सम्पन्न गर्ने लक्ष्य लिइएको यो चलचित्र दशैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ । लचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।