सीतामैया विश्वमै उभिएर सितार बजाउने पहिलो महिलाका रुपमा सूचिकृत

वरिष्ठ सितारवादीका सीतामैया राजचललाई ‘वर्ल्ड बुक अफ रेकर्ड, लण्डन’ ले विश्वमै उभिएर सितार बजाउने पहिलो महिलाको रुपमा सूचिकृत गरेको छ l राष्ट्रिय नाचघर, जमलमा आईतबार आयोजित एक समारोहमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र वर्ल्ड बुक अफ रेकर्डका लागि, नेपाल शाखा अध्यक्ष सागर कटुवालले संयुक्त रुपमा सीतामैयालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए l प्रारम्भिक चरणमा वरिष्ठ सितारवादक ध्रुवेशचन्द्र रेग्मीसँग सितारवादन सिकेकी सीतामैयाले पछि रविन्द्र भारतीय युनिभर्सिटीबाट सितारवादन सम्बन्धी उच्च शिक्षा लिएकी थिईन् l जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजनमा ‘टकिङ् स्ट्रिङ्स’ र ‘जर्नी अन फ्रिट्स’ नामक सितार धुनका दुई एकल एल्बम समेत प्रकाशन गरिसकेकी सीतामैया हाल साँस्कृतिक संस्थानमा कार्यरत रहेकी छिन् l

समारोहमा सत्यमोहन जोशी, ध्रुवेशचन्द्र रेग्मी, जुगल डंगोल लगायतका व्यक्तिहरुले सङ्गीत र कलाको महत्वका साथै सीतामैयाका बारेमा आ-आफ्ना धारणा राखेका थिए भने ‘वर्ल्ड बुक अफ रेकर्ड’ का पदाधिकारी एवं वरिष्ठ कला – सङ्गीतकर्मीहरुको उपस्थिति रहेको सो समारोहमा सीतामैयाले सितार धुनका केही प्रस्तुतिहरु समेत दिएकी थिईन् l