तेस्रो एल्बमको तयारीमा सविन

  • तुलसी गिरी ‘भावुक’ –

    सुपरहिट गीत ‘म भन्दा नि धेरै राम्रो थियोहोला र त’ का गायक सविन लिम्बू यतिबेला तेस्रो एकल एल्बमको पहिलो गीत ‘ठाउँको ठाउँ ढाल्दिने कस्तो रुप पाएछौ’ को भिडियो रिलिज गर्ने तयारीमा लागेका छन् l एक एकवटा गीतको भिडियो रिलिज गर्दै जाने र सबै गीतको भिडियो तयार भएपछि एकीकृत गरी एल्बम निकाल्ने उनको योजना रहेको छ l ‘जमाना युट्युबको छ l अडियोमा मात्र निकालेर त श्रोतालाई थाहा पनि नहुने अवस्था आईसक्यो’ उनले सङ्गीतमा डिजिटल बजारको प्रभावबारे आफ्नो धारणा राखे l

पिता कुल प्रसाद थाम्सुहाङ र माता हेमरानी लिम्बूको परिवारमा तीन छोरी पछि कान्छो सन्तानको रुपमा जन्मिएका कचनकवल-७, झापाका प्रतिभा सविन एस. एल. सी. पछि उच्च शिक्षा र सङ्गीतमा केही गर्ने सपना बोकेर २०६३ सालमा राजधानी प्रवेश गरेका थिए l ‘म ५ बर्षको उमेरदेखि नै गाउँथें l ८-९ बर्षको भएपछि त स्टेजमै गाउँन थालेको थिएँ l अलि ठूलो भएपछि हामीले ‘स्टार’ नामको साङ्गीतिक ग्रुप पनि बनाएका थियौं l ५ जनाको हाम्रो समूहमा म भोकलिष्ट र गितारिष्ट थिएँ’ पुराना दिनहरु सम्झंदै सविन भन्छन् l 

काठमाण्डौ आएपछि क्याम्पस पढ्दै श्रुति सङ्गीत विद्यालयमा नरहरि प्रेमीसँग र गुरुकुलमा गुरुदेव कामतसँग गरी ६ वर्षसम्म निरन्तर शास्त्रीय सङ्गीत सिकेका सविनले पहिलोपटक ०६४ सालमा ‘मलाई छोड्यौ मलाई रुवायौ’ बोलको गीत रेकर्ड गरेका थिए l मानष के.सी. को शब्द र डेनी निरौलाको सङ्गीत रहेको यो गीत उनको पहिलो एल्बम True Love को पहिलो गीत थियो l पहिलो एल्बम निकाल्दाका कठिन दिनहरु सम्झंदै उनले भने -‘धौलागिरि क्यासेटबाट एल्बम निकालेको थिएँ l त्यो एल्बम निकाल्दा  दु:ख पनि धेरै पाएँ l माल्दिदीले पैसा हाल्दिनुभएको थियो, त्यो सबै डुब्यो र विदेशतिर लागें’ उनले सुस्केरा हाल्दै यथार्थ सुनाए l पहिलो एल्बमको सन्दर्भमा कुरा गर्दा दिक्क लवजमा उनले पटक पटक ‘धेरै दु:ख पाईयो’ भन्ने शब्द उच्चारण गरे l जहाँ त्यो बेलाको उनको अकल्पनीय पीडाको अनुभूति गर्न सकिन्थ्यो l तीतो अनुभव र गरुङ्गो मन लिएर बहराईन पुगेका सविनमा सङ्गीतप्रतिको मोह भने मरेको थिएन l बिदेशमा रहँदा पनि उनले साङ्गीतिक कर्मलाई निरन्तरता दिईरहे l २ बर्षपछि नेपाल फर्किएर उनले २०७० सालमा एशियन म्युजिकबाट दोस्रो एल्बम ‘सास’ निकाले l त्यो एल्बम पनि औसत रुपमा चलेपछि उनी कलेक्शन एल्बमतिर व्यस्त रहँदै आएका छन् l कलेक्शन एल्बमको गायनले नै आफ्नो सङ्गीत यात्रामा ‘टर्निङ’ ल्याएको बताउने सविन भन्छन् -‘उत्तम भण्डारीको शब्द/सङ्गीतको गीत ‘किन रुन्छ मन माया सम्झेर’ मेरो ‘आईडी’ नै बन्यो l त्यसपछि ‘म भन्दा नि धेरै राम्रो’ पनि लोकप्रिय भयो l यो गीत पछि मेलिना राईको स्वरमा पनि रेकर्ड भएको छ l ‘रुने छौ तिमी’ र ‘भुल्नै गारो’ पनि मेरा चलेका गीत मध्येमा पर्छन् l’

सुरुआती दिनदेखि नै कम्पोज पनि गर्ने गरेका सविनले आफ्ना दुबै एल्बमका केही गीतमा आफैं सङ्गीत गरेका छन् भने कलेक्शन एल्बममा प्राय: उनी आफ्नै सङ्गीतमा गाउने गर्दछन् l लगभग १ दर्जन शब्द लेखन, ४ दर्जनजति सङ्गीत र ५ दर्जनजति गीतमा स्वर दिएका सविनका सङ्गीतमा राजेशपायल राई, प्रमोद खरेल, मेलिना राई लगायत स्थापित अन्य गायक-गायिकाहरुले स्वर दिएका छन् l पछिल्ला २ वर्ष यता उनी म्युजिक एरेन्जरको रुपमा समेत सक्रिय रहँदै आएका छन् l ‘१०० जति गीतमा एरेन्ज गरेंहोला’ उनी अनुमान गर्छन् l आफू एरेन्जर हुनुको श्रेय उनी सङ्गीतकर्मी मित्रहरु टंक बुढाथोकी र सन्जय हमाललाई दिन्छन् l

गायक बन्ने सपना बोकेर १२ वर्ष अघि राजधानी प्रवेश गरेका प्रतिभा सविन विभिन्न हण्डर र ठक्कर खाँदै र खारिंदै आज गीतकार, गायक, सङ्गीतकार र म्युजिक एरेन्जरको रुपमा दरिलो रुपमा उभिन सक्षम भएका छन् l तथापि उनी आफूलाई गायक भन्नमै बढी सन्तुष्टि महसुस गर्छन् l नागरिकतामा पदम थाम्सुहाङ र कर्म क्षेत्रमा सविन लिम्बूको नामबाट परिचित सर्जक-कलाकार सविन अब स्वदेशमै रमाउन सक्ने हैसियतमा पुगेका छन् l