प्रस्तोता समाजद्वारा पिकनिकको आयोजना हुँदै, पिकनिक अन्तरक्रियात्मक हुने अध्यक्ष पराजुलीको भनाई

गायक – गायिका लगायतका प्रस्तोताहरुको रोयल्टी सङ्कलन तथा वितरणका लागि स्थापित संस्था ‘गायन समाज नेपाल’ ले पिकनिकको आयोजना गर्ने भएको छ l आगामी चैत २२ गते घोडे जात्राका दिन बालाजु पार्कमा पिकनिकको आयोजना हुने कुरा समाजका अध्यक्ष तुलसी पराजुलीले जानकारी गराएका छन् l अरुबेला गायक – गायिका विभिन्न मेला महोत्सवमा व्यस्त हुने भएकोले चैतको तेस्रो साता पिकनिकको आयोजना गरिएको कुरा समेत अध्यक्ष पराजुलीले बताएका छन् l समाजका सबै प्रस्तोता सदस्यहरुलाई पिकनिकमा सहभागी हुनका लागि आग्रह गर्दै उनले भने -‘रमाईलो मात्र गर्ने पिकनिकहरुमा त हामी गईरहेका हुन्छौं तर यो पिकनिक अन्तरक्रियात्मक हुने छ l पुरानादेखि नयाँ पुस्ताका गायक – गायिका बीचमा सौहार्दता र सद्भाव बढाउन साथै रोयल्टीको अभियानमा हालसम्म भएका उपलव्धीहरूबारे आफ्ना सदस्यहरुलाई जानकारी गराउँदै अधिकार प्राप्तिका लागि जागरुक गराउने उद्देश्यले समेत यो पिकनिकको आयोजना गरिएको हो l औपचारिक कार्यक्रम जम्मा २ घन्टाको मात्र हुने छ भने बाँकी समय हामी रमाइलो गर्ने छौं l’
यो समाचार लेखिरहँदा पिकनिकमा आयोजना हुने २ घन्टाको औपचारिक कार्यक्रमको लागि संचारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटा र संस्कृति राज्य मन्त्री धन बहादुर बुढालाई प्रमुख अतिथिका रुपमा निमन्त्रणाको पहल भईरहेको थियो l