४ महिनापछि अमेरिका फर्किए प्यासी, यसपटकको नेपाल यात्रा अविष्मरणीय

लोकप्रिय गायक-सङ्गीतकार नरेन्द्र प्यासी लगभग ४ महिनाको नेपाल बसाईपछि हालै अमेरिका फर्किएका छन् l बेलाबेलामा आउँदै जाँदै गर्ने गरेका प्यासीको यो पटकको नेपाल यात्रा अरु बेलाको भन्दा विशेष र ऐतिहासिक रह्यो l हरेकपटक आउँदा गीत रेकर्डिङमा व्यस्त रहने गरेका उनी यसपटक पनि स्वाभाविकै रुपमा रेकर्डिङमा व्यस्त रहे l तर साँस्कृतिक संस्थान र जनता टेलिभिजनको संयुक्त आयोजनामा संस्थानकै मेघा हलमा सम्पन्न ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या २०७५’ विशेष रह्यो l ‘४ महिनाको नेपाल बसाईमा ३० वटा गीत रेकर्ड गरें, केही भिडियो र अडियो अन्तर्वार्ताहरु दिएँ  र केही महत्वपूर्ण व्यक्तिगत काममा व्यस्त भएँ’ प्यासीले जानकारी गराए l ‘अस्थाई रुपमा अमेरिकामा रहेपनि कहिले नमेटिने सङ्गीतको तिर्खा, यहाँको माहोल र साथीभाइको सम्झनाले मलाई तानिरहन्छ’ प्यासीले गम्भीर हुँदै भने l उनको एकल गायन साँझ निक्कै भव्यताका साथ सम्पन्न भएको थियो l समारोहमा उपस्थित दर्शक-श्रोताले अविष्मरणीय कार्यक्रम हेर्ने शौभाग्य प्राप्त भएको प्रतिक्रिया दिएका छन् l

२०३० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी सङ्गीतमा अनवरत क्रियाशील रहँदै आएका प्यासी गायकका रुपमा जति लोकप्रिय छन् उनका सङ्गीतका गीत पनि श्रोताले त्यत्तिकै मन पराएका छन् l ४० को दशकतिर राजधानीका होटल-रेष्टुरेन्टहरुमा अत्यन्तै लोकप्रिय रहेको रात्रिकालीन गजलगायनमा उच्च ख्याती कमाएका प्यासी विगतका केहीबर्ष युकेका रेष्टुरेन्टहरुमा समेत व्यस्त रहेका थिए l हिन्दी फिल्मी, गजल, सुफी लगायत नेपाली गजल तथा आधुनिक गीत गायनमा विशिष्ठ पहिचान स्थापित गरेका गायक नरेन्द्र प्यासी केहीबर्ष यता सपरिवार अमेरिका बस्दै आएका छन् l उनले सबै विधाका गीतमा स्वर दिएका छन् l अमेरिकालाई कर्मथलो बनाएका भएपनि नेपाल आउने – जाने क्रमले गर्दा सङ्गीत बजारमा उनको अभाव भने खड्किएको छैन l उनका गीत निरन्तर रिलिज भई नै रहेका छन् l प्यासी एक कुशल चित्रकार समेत हुन् l

प्यासीका ‘के भुल भयो र प्रिया, तिमी बिनाको जीवन, तिम्रो दिलमा चोट लाग्दा, चोट बराबरी, एकैपल पनि बाँच्न गारो भो, जाम् क्यारे उडेर, फूलको दिलमा पनि, म त तिम्रो मान्छे बन्न, सुने खबर जीवनसाथी, तिमीले दिने माया, काठमाण्डौ छुट्यो हेर्दा हेर्दै, कसरी जुट्यौं कसरी छुट्यौं’ लगायतका गीत लोकप्रिय छन् l यसअघि  बि. स. २०४१ मा नेपालमा र सन् २००५ मा एकल गायन प्रस्तुत गरिसकेका प्यासीको यो तेस्रो एकलगायन साँझ हो l