गजलसङ्ग्रह ‘माया महल’ मा रविन्द्र आशिष ‘शैली’

कवि तथा गीतकार रविन्द्र आशिष ‘शैली’ को एकल रचनाको गजलसङ्ग्रह ‘माया महल’ को लोकार्पण भएको छ l केहीदिन अघि घट्टेकुलोस्थित पाना क्याफेमा आयोजित एक समारोहमा ‘शैली’ को सो गजलको पुस्तक औपचारिक रुपमा लोकार्पण भएको हो l साहित्यकारहरु ज्ञानुवाकर पौडेल,  विजयध्वज थापा, ध्रुव मधिकर्मी, पिताम्बर प्रकट र सर्जक रविन्द्रले सो गजल पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका थिए l ७२ पृष्ठको सो गजलसङ्ग्रहमा विविध भावका ६४ गजल रहेका छन् भने पुस्तकको मूल्य १ सय ५० रुपैया राखिएको छ l पुस्तक लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो l २०७६ सालमा मुक्तक सङ्ग्रह प्रकाशन गर्ने योजना रहेको कुरा रविन्द्रले बताएका छन् l लोकार्पण समारोहमा पुस्तक विक्रीबाट सङ्कलित रकम पशुपतिस्थित ‘बाल सारथि’ नामक संस्थालाई प्रदान गरिने कुरा समेत उनले जानकारी गराए l

काभ्रेको बनेपामा जन्मेका रविन्द्र आशिष ‘शैली’ हाल स्थाई रुपमा कोटेश्वर बस्दै आएका छन् l २०४२ सालमा प्रकाशित संयुक्त कवितासङ्ग्रह ‘आजको आकाश’ भाग-१ र २०६३ मा प्रकाशित भाग-२ मा केही कविता प्रकाशन गरी औपचारिक रुपमा साहित्यिक यात्रा आरम्भ गरेका रविन्द्रले यसअघि ‘मायाले बोलाउँछ’ भाग-१ र २ साथै ‘शैली’ गरी ३ वटा एकल रचनाका गीति एल्बम प्रकाशन गरिसकेका छन् l फेसबुकमा निरन्तर गीत, कविता, गजल, मुक्तक जस्ता साहित्यिक रचनाहरु पोष्ट गरेर भएपनि आफ्ना सिर्जनाहरुलाई निरन्तर जनसमक्ष ल्याईरहेका स्पष्ट स्वभावका सर्जक रविन्द्र आफ्नो विधासँग सम्वन्धित विभिन्न सङ्घ-संस्थाहरुमा आवद्ध रही क्रियाशील रहँदै आएका छन् l