मार्मिक गीत ‘जाँदैछु म आज सात समुन्द्रपारि’ को भिडियो सार्वजनिक

सर्जक/कलाकार अन्जु श्रेष्ठ भरखरै आफ्नै शब्द र स्वरको गीत ‘जाँदैछु म आज सात समुन्द्रपारि’ को भिडियो लिएर दर्शक-श्रोतामाझ आएकी छिन् l सुनिल राईको सङ्गीत र मनोज सङसोनको म्युजिक एरेन्ज रहेको यो गीतको भिडियो देवेन्द्र कुँवरको कोरियोग्राफी, ज्ञानु राईको छयाङ्कन र अशोक मल्लको सम्पादनमा तयार भएको हो l भिडियोमा मनले नमान्दा नमान्दै पनि घरको दयनीय आर्थिक अवस्थाका कारण बूढी र रोगी आमालाई एक्लै छाडेर रोजगारीका लागि परदेशतिर लागेकी एउटी युवतीको मार्मिक कथा प्रस्तुत गरिएको छ l जसमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले आमाको भूमिका निभाएकी छिन् भने केकी अधिकारी छोरीको भूमिकामा छिन् l भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

ओखलढुङ्गामा जन्मिएर गाईघाट र राजविराजमा युवा उमेर बिताएकी अन्जु सानैदेखि गीत-सङ्गीतमा रुची राख्ने प्रतिभा हुन् l पेशाले डेन्टल नर्स उनी सन् २००६ देखि

 वेलायत बस्दै आएकी छिन् l गीतका अतिरिक्त कविता, कथा र नाटक समेत लेख्ने गरेकी अन्जुद्वारा लिखित दुई नाटक वेलायतमा मन्चन समेत भईसकेका छन् भने विभिन्न सङ्घ-संस्थामा आवद्ध भई सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी उनले दुबै नाटकबाट सङ्कलित रकम सामाजिक सेवामै खर्च गरेको कुरा बताएकी छिन् l उनी चित्रकला र नृत्यमा समेत रुची राख्छिन् l अन्जुले २०१७ मा आयोजित ‘मिसेस नेपाल’ नामक प्रतियोगितामा ‘मिसेस ट्यालेन्ट’ को उपाधी समेत जितेकी थिईन् l यो समाचार लेखिरहँदा ‘जाँदैछु’ को भिडियो युट्युबमा ५३ हजार दर्शकले हेरिसकेका छन् l