राजधानी बाहिर पहिलोपटक ‘राष्ट्रिय नाटक महोत्सव’ सम्पन्न

देशमै पहिलोपटक काठमाण्डौ बाहिर राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ l साँस्कृतिक संस्थानको मूल आयोजना र आरंग नेपाल, सुर्खेतको सह आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा हालै ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’ सम्पन्न भएको हो l फागुन २३ देखि २९ गतेसम्म चलेको सो महोत्सवमा हरेक दिन २ वटाका दरले ६ प्रदेशका १२ नाटक मन्चन भएका थिए l प्राप्त जानकारी अनुसार महोत्सवमा गणेश गौतम, युवराज शर्मा मुराक, पुष्प अवस्थी, सुरेश पोर्तेन, अकबर खान, रामलोचन चौरासिया, भीष्म जोशी, आर. के. मेहता, रत्नी बहादुर घर्ती, पुरु लम्साल, झकेन्द्र बी. सी., कपिल शर्मा र प्रवीण खतिवडाद्वारा निर्देशित ‘मुसल पर्व, आरन, छाउ, म पहिलो सन्तान किसान जन्माउँछु, आमाको सपना, दहेज आ दारु, श्रीमान वीर बहादुर, जिउँदो आकाश, फड्को, नौगेड़ी, हिट्वा, घेरो र एकबोली एकदाम’ शीर्षकका नाटक मन्चन भएका थिए l जसमा आरङ्ग नेपाल, सोलुखुम्बू नाट्य समूह, खप्तड साँस्कृतिक मंच, मानव अधिकार मंच नेपाल, कर्णाली कला प्रतिष्ठान, गढीमाई नाट्य कला केन्द्र, सुदूर पश्चिमान्चल साहित्य समाज, साईलेन्ट एक्ट, कर्णाली खस संस्कृति मंच, मन्जरी नाट्य समूह, शान्तिका लागि युवा सन्जाल, युथ क्रिएशन थिएटर र ङ समूहको सहभागिता रहेको थियो l 
महोत्सवका लागि साँस्कृतिक संस्थानबाट महाप्रवन्धक राजेश थापा, नाट्य विभाग प्रमुख प्रभाकरदेव शर्मा लगायत केही कर्मचारीहरु सुर्खेतको वीरेन्द्रनगर पुगेका थिए l संस्थानका महाप्रवन्धक राजेश थापाले महोत्सवमा भिन्न भिन्न प्रदेशका विशेषता र साँस्कृतिक महत्व बोकेका नाटकको सहभागिता रहेको र  ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिएका छन् l यसअघि सडक नाटक मात्र हेरेका दर्शकले पहिलोपटक गृह नगरमा आधुनिक प्राविधिक व्यवस्थापन सहितको नाटक हेर्न पाउँदा खुशी व्यक्त गरेका थिए l