शिशिर योगीको ‘शिशिर’ सार्वजनिक, एल्बममा गहकिला भाव र जीवनदर्शनको मर्म

लोकप्रिय गायक शिशिर योगीको एकल स्वरमा रहेको गीति एल्बम ‘शिशिर’ एक औपचारिक समारोहमा सार्वजनिक भएको छ l ललितपुरको पाटनढोका स्थित यलमाया केन्द्रमा आयोजित समारोहमा शताव्दी पुरुष एवं संस्कृतिविद सत्यमोहन जोशी, म्युजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, वरिष्ठ गीतकारद्वय रत्नसम्शेर थापा र कालीप्रसाद रिजाल एवं साहित्यकार कनकमणि दीक्षितले संयुक्त रुपमा सो एल्बमको लोकार्पण गरेका थिए l एल्बममा भीमविराग, कमल दीक्षित, सत्यमोहन जोशी, रत्न सम्शेर थापा र कालीप्रसाद रिजालका शब्द तथा राजकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, नारायणगोपाल, अम्बर गुरुङ, नोर्बु छिरिङ र शिशिर स्वयम्का सङ्गीतमा ‘हररात नयन रुझाईदिने, जति चोट दुखे उति हाँसो उठे, जहाँ म जाउँ जता म जाउँ, सारा सृष्टि साँच्चै नै सुन्दर, इतरी कहाँ जान तम्सेकी सान्नानी, बिर्सिदिनेलाई अब बिर्सिदिनै जाती, तेरो मेरो जे भन्छौं हामी, दिनको दिनै गढ़िरहेछ र फुरफुर फुरफुर गर्दै उड्ने’ गरी ९ वटा गीत सङ्ग्रह गरिएका छन् l ‘शिशिर’ म्युजिक नेपालबाट ५ सय ७५ औं एल्बमको रुपमा प्रकाशित भएको हो l नेपाल टेलिकमका ग्राहकहरुले यस एल्बमका गीत App Store वा गुगल प्ले स्टोरबाट Music Nepal एप डाउनलोड गरी सुन्न सक्ने र Ncell का ग्राहकहरुले छिट्टै Geet एप मार्फत सुन्न सक्ने कुरा म्युजिक नेपालले जानकारी गराएको छ l

एल्बम विमोचन समारोहमा आफ्ना कुराहरु राख्दै म्युजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्माले गायक योगी र म्युजिक नेपालबीचको सम्बन्ध धेरै लामो भएको बताए l शर्माले अगाडि भने- ‘म्युजिक नेपालले लगभग १५ बर्ष अगाडि शिशिर योगीको एल्बम ‘पहिचान’ निकाल्ने सौभाग्य प्राप्त गरेको थियो l त्यस एल्बमका ‘सारङ्गी त रेटेपनि’ र ‘एउटा मान्छेको खोजी’ बोलका २ गीत धेरै लोकप्रिय पनि भए l मलाई लाग्छ, यी दुई गीतले सङ्गीत क्षेत्रमा शिशिर योगीको राम्रो पहिचान स्थापित गरेका थिए l यो बीचमा उहाँका अरु एल्बम प्रकाशन भएको मलाई जानकारी छैन l यति लामो समयको अन्तरालमै भएपनि हामीलाई अर्को महत्वपूर्ण एल्बम निकाल्ने सौभाग्य प्राप्त भएको छ l’ यसैगरी शताव्दी पुरुष सत्यमोहन जोशीले आजकल छन्दको प्रयोग हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै सङ्गीत र कलाको प्रवर्धन बिना सम्वृद्ध नेपालको कल्पना पनि गर्न नसकिने विचार राखेका थिए भने गीतकार कालीप्रसाद रिजालले गम्भीर भावहरुको वाहुल्यता रहेको ‘शिशिर’ एल्बम विशेष भएको धारणा व्यक्त गरेका थिए l

समारोहमा गायक योगीले आफ्ना सङ्गीत गुरु अम्बर गुरुङको सम्झनामा अम्बरको सङ्गीतमा रहेको गीत प्रस्तुत गरेका थिए भने भीमविराग, नारायणगोपाल र कमलमणि दीक्षितलाई पनि उनले गीत प्रस्तुति मार्फत नै सम्झिए l उनलाई एउटा युगल गीतमा सरला बिसीले स्वरमा साथ दिएकी थिईन् l गायक योगीले छिटै सत्यमोहन जोशीको एकल शब्द र आफ्नो एकल स्वरको एल्बम पनि म्युजिक नेपालबाट प्रकाशित हुन लागेको कुरा समेत समारोहलाई जानकारी गराए l कमल दीक्षितद्वारा रचित एवं जीवन शाहीद्वारा निर्देशित ‘शिशिर’ एल्बममा समाविष्ट गीत ‘फुरफुर’ को म्युजिक भिडियो समेत प्रदर्शन गरिएको सो समारोहमा रातो बंगला, नेपाली विभागका शिक्षिकाहरुले सामूहिक रुपमा सो गीत लयवद्ध वाचन समेत गरेका थिए l विविधताले पूर्ण रहेको यस एल्बमका अधिकांश गीतले गम्भीर भाव एवं जीवनदर्शनका गहिरा मर्महरु व्यक्त गरेका छन् l