गीतकार ‘भिखारी’ र सङ्गीतकार मास्केको सहकार्यमा ‘पञ्चामृत’, शब्द, सङ्गीत र स्वरको अनुपम सङ्गम

– तुलसी गिरी ‘भावुक’ –

‘महादेव पोईला जान पाम् जस्ता गीत रातारात चल्छन् र छिट्टै गायव पनि हुन्छन् l तर कतिपय गीत यस्ता हुन्छन् जुन सर्जक मरेर गएपछि पनि जीवन्त रहन्छन् l सुनिल मास्केका गीत यसअघि मैले गम्भीर भएर सुनेको थिईन l यस एल्बमका गीत सुनिसकेपछि मैले धेरै प्रसंशा गर्ने कुरा पाएँ l गीत तुकबन्दी र मिलेको अनुप्रास मात्र पनि हैन l त्यस्ता गीत त जसले पनि लेख्न सक्छ l लोकप्रिय हुनु र नहुनु मात्र पनि महत्वपूर्ण कुरा हैन l तथापि मलाई जस्तै यी गीतले सबैको मन छुन्छ भन्ने विश्वास छ l यी गीत कुनै नयाँ गीतकारले लेखे जस्तो नै लाग्दैन l समग्रमा शब्द, सङ्गीत र स्वरको सामान्जस्य मिलेका कारण पनि गीत राम्रा बनेका छन्’  ‘पञ्चामृत’गीति एल्बम विमोचन समारोहमा वरिष्ठ गीतकार यादव खरेलले आफ्ना विचारहरु यसरी पोखे l

अर्जुनरत्न ‘भिखारी’को एकल शब्दरचना र सुनिल मास्केको एकल सङ्गीत रहेको गीति एल्बम ‘पञ्चामृत’ बिजुलीबजारस्थित कर्निभल रेष्ट्रोमा आयोजित एक औपचारिक समारोहमा सार्वजनिक भएको छ l कार्यक्रमका प्रमुख अतिथित्रय अग्रज गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, सङ्गीतकार शम्भुजीत बासकोटा, गायक दीप श्रेष्ठ, गीतकार ‘भिखारी’ र सङ्गीतकार मास्केले संयुक्त रुपमा एल्बमको लोकार्पण गरेका थिए l सर्वप्रिय माईकजीविद्वय दिनेश डी. सी. र नरेश भट्टराईद्वारा सञ्चालित सो समारोहमा सङ्गीतकार मास्केका पिता घनश्याम मास्के र माता मसिना मास्केका साथै गीतकार ‘भिखारी’का पिता बल बहादुर सुनार र माता रामलिला सुनारको समेत उपस्थिति रहेको थियो l एल्बमको बजार व्यवस्थापन भाइब्स क्रियशनले गरेको छ l 

एल्बम ‘पञ्चामृत’मा ‘मनमनै त हो मैले, तिम्रा ती झुठा मायाका यादहरु, धनले होईन मनले, परैदेखि मुश्कान छर्दै र जवानीको ऐना हजुर’ गरी ५ वटा गीत रहेका छन् l जसमा स्वरुपराज आचार्य, प्रमोद खरेल, सुरज थापा, मेलिना राई र सुरेश लामाले स्वर दिएका छन् l ‘मनमनै त हो मैले’ र ‘परैदेखि मुश्कान छर्दै’ बोलका दुई गीतमा कसैलाई देखेर मन आकर्षित भएका कुराहरु छन् l एकतर्फी प्रेमले मन विचलित भएको छ र जीवनभरको साथ पाउने चाहनाहरु व्यक्त भएका छन् l यसैगरी अर्को गीत ‘तिम्रा ती झुठा मायाका यादहरु’ मा भने प्रेमवियोगका गहिरा पीडाहरु छन् l गीतमा हृदयको विदारक कम्पन महसुस गर्न सकिन्छ l पीडाको पराकाष्ठा भएपनि छाडिजानेको जिन्दगीप्रति सकारात्मक चिन्तन गरिएको यस वियोगान्त गीतका शव्द जति मार्मिक छन् सङ्गीत र स्वर त्यति नै भावसागरमा डुबेको अनुभूति हुन्छ l एल्बमको अर्को गीत ‘धनले होईन मनले’ मा कताकता हाम्रो परिवेशभित्रको एउटा यथार्थता झल्किएको छ भने भाइचारा एवं वन्धुत्वको सन्देश पनि गीतले दिएको छ l ‘जीवन दर्शन’ का गहिरा एवं मननीय भाव बोकेको यस गीतले कतै मान्छेका आचरणलाई व्यंग्य गरे जस्तो त कतै वैमनष्यता, स्वार्थ, रिस, डाह जस्ता मान्छेका शत्रूहरुप्रति चिन्ता गरेजस्तो लाग्छ l गीतमा सत्कर्म र सुन्दर संसारको समेत चाहना गरिएको छ l गीत संख्या ५ भएपनि विविध भावको यस एल्बमको अर्को अर्थात पाचौं गीत ‘जवानीको ऐना हजुर’ रोमान्टिक भावको छ l गीतमा भरखरै १७ बाट १८ लागेकी युवतीको बैंसजन्य चंचलता, कौतुहलता र जिज्ञासाहरुको वयान गरिएको छ l रहरहरु अनियन्त्रित छन् l मन त्यसै त्यसै कल्पिएको छ अनि छल्किएको छ l

एल्बमका गीत सुन्दै जाँदा कुनै गीत अपूरै छाडेर अर्को सुन्न मन लाग्दैन, हरेक गीतले बाँधिरहन्छ l ०४१ सालमा बाँसुरीवादकको रुपमा सङ्गीत क्षेत्रमा प्रवेश गरी लामो समय बाँसुरीवादक्कै रुपमा सक्रिय रहेका सुनिल मास्केले २०५० सालमा आफ्नै एकल सङ्गीत र स्वरको एल्बम ‘भाका’ प्रकाशन गरेका थिए भने त्यसपछि २०५४ सालमा कलेक्शन सङ्गीतको एल्बम ‘दोबाटो’ प्रकाशन भएको थियो l जसबाट कुमार कान्छाको स्वरमा रहेको गीत ‘साइँली तिमीलाई’ बाट सङ्गीतकारको रुपमा उनी पहिलोपटक चर्चामा आएका थिए l त्यसपछि सुनिभा, सुभव, मधुर मिलन, श्रावणी, रागिनी, नूतन कृति, शब्द सलोनी र अहिले पञ्चामृत शीर्षकका एकल एल्बम प्रकाशन गरिसकेका सङ्गीतकार सुनिल मास्केका सबैभन्दा राम्रा एल्बमको नाम लिनुपर्दा ‘पञ्चामृत’लाई अग्र पङ्क्तिमा नै राख्न सकिन्छ भन्ने लाग्दछ l

स्थाई घर पोखरा र हाल वेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न ‘भिखारी’ नेपाली सङ्गीत क्षेत्रका उदियमान सर्जक हुन् l चेतन सापकोटाको सङ्गीत र नारायण धितालको स्वरमा २ बर्ष अगाडि अर्जुनरत्नको पहिलो एल्बम ‘जय मायाप्रेम’ सार्वजनिक भएको थियो l जसबाट ‘मरेंभने दिनु है दाउरा उपहार’ बोलको गीत निक्कै चर्चामा आयो l ‘पञ्चामृत’को म्युजिक भिडियोमा अभिनय समेत गरेका बहुप्रतिभाशाली अर्जुनरत्नले ‘दाउरा उपहार’ मा पनि अभिनय गरेका थिए l शब्दले सङ्गीतकारको मन छोयो भने भावको गहिराईमा पुग्न पनि कठिन हुन्न रे ! या आधा सङ्गीत त त्यो ‘फिलिङ्स्’ ले नै जन्मन्छ रे ! भन्ने भनाई यहाँ सम्झन मन लाग्छ l किनकि गीतका भाव र मेलोडीको तादात्म्य यति मिलेका छन्, यो भन्दा अर्को कम्पोज अझ राम्रो हुन्थ्यो कि भन्ने कतैपनि लाग्दै लाग्दैन l अरु गीत कस्तो लेख्लान्, अर्को एल्बम कहिले ल्याउलान् यो भविष्यको गर्भमै छ l तर अर्जुनरत्नको यो एल्बम नि:सन्देह नेपाली सङ्गीत भण्डारमा एउटा स्मरणीय, उदाहरणीय र श्रवणीय कृतिको रुपमा जीवन्त रहने छ l

video link