जितु नेपाल र रेनाशा राई फिल्मीखबर वर्ष व्यक्ति, ‘सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार’विष्णु सुवेदीलाई

विगत १० वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै आएको फिल्मीखबर साप्ताहिकले यसवर्ष पनि बर्ष व्यक्तिको  घोषणा गरेको छ । वर्ष व्यक्तिका रुपमा पुरुषतर्फ यसवर्ष हास्य कलाकार जितु नेपाल र महिलातर्फ कोरियोग्राफर तथा यसै वर्षबाट निर्देशक बनेकी रेनाशा वान्तवा राईलाई चयन गरिएको  छ । जितु नेपालले यसवर्ष अत्याधिक सफल चलचित्र ‘छक्का पञ्जा’ निर्माण गर्नुका साथै  सो चलचित्रको स्कृप्ट लेखन तथा त्यसमा अभिनय गरेका थिए भने उनी यसैवर्ष नेपाल टी. भी.  मा रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लव’ सञ्चालन गरी चर्चामा आएका छन् । साथै नेपालले यसवर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपालभित्र  ६०-६५ शो कमेडी प्रस्तुति दिएका छन् । त्यस्तै म्यूजिक भिडियोबाटै प्रवेश गर्दागर्दै चर्चामा रहेकी रेनाशाले चलचित्र  कोरियोग्राफीमा पनि सफलता प्राप्त गरेकी छिन् । यसैवर्ष निर्देशनमा पाइला चालेकी राई ‘इन्टु मिन्टु लण्डनमा’ मार्फत नव निर्देशकहरुमा सफल देखिएकी हुन् ।

वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको ‘फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार’ बाट पहिलोपटक विष्णु प्रसाद सुवेदी पुरस्कृत हुने भएका छन् । विगत डेड दशकदेखि  रङ्ग पत्रकारितामा संलग्न विष्णु सुवेदीले यसैवर्ष मात्र ‘लेन्स नेपाल डट कम’ नामक  वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए । विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–सङ्गीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलिब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् ।

वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ सम्मान गरिने छ भनेरङ्ग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवं रु.१०,०१०।– (रु. दश हजार दश) राशी रकम सहित पुरस्कार प्रदान गरिने फिल्मीखबरले जनाएको छ ।

फिल्मीखबर नेपाली रङ्ग पत्रकारिताको  इतिहासमा १०औं वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका भएको छ । यसअघि रङ्ग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनैपनि साप्ताहिकले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् । यस किसिमको अवसर पाउनुलाई फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले खुशी प्रकट गरेका छन् । प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन भईरहेको यस पत्रिकाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सम्पादक  विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् । पत्रिकाले आफ्नो दशौं वार्षिकोत्सव चैत १ गते एक कार्यक्रमकाबीच मनाउँदै छ । सोही अवसरमा बर्ष ब्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरिने कुरा सम्पादक शान्तिप्रियले बताए ।