शृङ्गारिक भावको प्रेमगीतमा सारिका

  • – तुलसी गिरी ‘भावुक’ –

    ठूलो पर्दाको चलचित्र हुँदै म्युजिक भिडियो मोडलिङमा व्यस्त रहँदै आएकी कलाकार सारिका घिमिरे एकबर्ष यता गायनमा समेत सक्रिय देखिएकी छिन् l भरखरै एस. इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट उनको नयाँ युगल गीत ‘बिर्सियौ कि’ को भिडियो रिलिज भएको छ l विगतमा झैं उनले यसपटक पनि आफ्नै शब्द/सङ्गीतमा स्वर दिएकी छिन् l ‘बिर्सियौ कि माया मलाई तिमीले अचेल भेट्न गाह्रो भो’ बोल रहेको यस युगल गीतमा सारिकालाई योगेश काजीले स्वरमा साथ दिएका छन् l गीतमा म्युजिक एरेन्ज पनि योगेशकै रहेको छ भने भिडियोमा गायक-गायिका अर्थात सारिका र योगेशको जोडीलाई नै देख्न सकिन्छ l शृङ्गारिक भावको यस प्रेमगीतमा अलिअलि भेट नहुँदाको पीडा, अलिअलि शङ्का, छट्पटी र धेरै मायाका उदगारहरु छन् l एक अर्काप्रतिको समर्पण भाव र आफ्नो प्रेमीसँग सधैं नजिक रहने  चाहनाहरु नै गीतका मूल मर्म हुन् l
    नेपाली सिने क्षेत्रमा राम्रो पहिचान स्थापित गरेका नायिकाहरु सनी रौनियार, गौरी मल्ल, निरुता सिंह, रेखा थापा, प्रियंका कार्की लगायतले पनि यसअघि गीत गाएका थिए l गायनमा राम्रो सम्भावना भएर पनि यी मध्ये कसैले पनि यो विधालाई निरन्तरता दिएनन् l चलचित्र अभिनय र भिडियो मोडलिङमा जमिरहेकै बेला सारिका गायनलाई पनि निरन्तरता दिईरहेकी छिन् l व्यावसायिक गायिकाको रुपमा अगाडि आउन सक्ने प्रचुर सम्भावना भएपनि स्थापित भइसकेको पेशा पर्दाको दुनियाँले उनको यो यात्रालाई प्रभावित गर्छ या गर्दैन यसै भन्न सकिन्न l तथापि दिनानुदिन उनको गायकीको प्रशंसा गर्ने र यसलाई निरन्तरता दिनका लागि हौसला प्रदान गर्नेहरुको संख्या भने बढिरहेको छ l
    ०६४ सालमा ठूलो पर्दाको अभिनयबाट कला क्षेत्रमा प्रवेश गरेकी सारिकाले ‘आगो-२’, जीवन काँडा कि फूल’ लगायत आधा दर्जन चलचित्रमा अभिनय र केही दर्जन म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी छिन् l उनले एकबर्ष अघि रमेश थापाको शब्द र जितेन लेप्चाको सङ्गीतमा ‘के देखेर माया लायौ’ बोलको गीत रेकर्ड गरी गायन यात्रा आरम्भ गरेकी थिईन् l एकल स्वरको एल्बम ‘मोहनी’ प्रकाशन गरिसकेकी सारिकाको फुटकर रुपमा ‘मूलको पानी’, ‘दिल टुट्यो’ र ‘रातो गलबन्दी’ जस्ता गीत बजारमा आएका छन् l सङ्गीतमा केही गर्ने अठोटका साथ अगाडि बढिरहेकी सारिका हाल सङ्गीत समेत सिकिरहेकी छिन् l

‘बिर्सियौ कि’ गीतको भिडियो राम सिंह भाटको छायाङ्कन तथा वीरेन्द्र भाट विपिनको निर्देशन र सम्पादनमा तयार भएको हो l छायाङ्कन तथा सम्पादनमा विशिष्टता हासिल गरेका वीरेन्द्र पछिल्लो समय भिडियो निर्देशनमा समेत सक्रिय देखिएका छन् l ०६८ सालदेखि नै म्युजिक भिडियो निर्देशन सुरु गरेका भएपनि प्रमुख विधा  छायाङ्कन र सम्पादन भएकोले पछिला केहीबर्ष उनले भिडियो निर्देशनलाई प्राथमिकतामा राखेका थिएनन् l आफ्नै स्वामित्वको कम्पनी वर्ल्डकभर मिडियाबाट भिडियोको पोष्ट प्रोडक्सनको काम गरिरहेका वीरेन्द्रको निर्देशकीय क्षमताको प्रशंसा हुन थालेपछि केही समय यता उनले लगातार भिडियो निर्देशन समेत गर्न थालेका हुन् l वीरेन्द्रले हालसम्म २ दर्जन बढी भिडियोको निर्देशन गरिसकेका छन् l

video link