‘तिलस्मी’ को लोकार्पण, गीतकार डी. आर. अब उपन्यासकार पनि

  • तुलसी गिरी ‘भावुक’ –

    गीतकार डी. आर. राईले उपन्यासकारको रुपमा समेत आफ्नो पहिचान स्थापित गरेका छन् l भरखरै उनको पहिलो उपन्यास ‘तिलस्मी’ काठमाण्डौमा आयोजित एक समारोहमा लोकार्पण भएको छ l प्रा. डा. सुरेन्द्र के. सी. को प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा प्रमुख अतिथि के. सी. सहित समालोचक महेश पौडेल, डा. विष्णु प्रसाईं, डा. विन्दु शर्मा, पुस्तकका प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल र उपन्यासकार डी. आर. ले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका थिए l

    ०५८ सालदेखि औपचारिक रुपमा गीत लेखनमा सक्रिय रहँदै आएका डी. आर. राईका यसअघि ‘वाचा’ [ २०५९ ], ‘यादमा’ [ २०६५ ], ‘भूल’ [ २०६८ ] र ‘फष्ट मुभ’ [ २०७० ] गरी ४ वटा गीति एल्बम र ‘नयाँ मोडहरुमा’ [ गीतसङ्ग्रह-२०६३ ], ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ [ यात्रा संस्मरण-२०६६ ] र ‘आत्मभाव’ [ गीतसङ्ग्रह-२०७३ ] गरी ३ वटा पुस्तक प्रकाशन भएका छन् l गीतकार डी. आर. द्वारा रचित गीत ‘झन्झन् मुटु दुख्न थाल्यो प्रिय तिम्रो यादमा’ निकै लोकप्रिय छ l

लोकार्पण समारोहमा उपन्यासकार डी. आर. ले उपन्यासको कथावस्तु, पात्र र तिनको चरित्र एवं उपन्यास लेख्नुको आशयको बारेमा प्रकाश पार्दै बजारमा आईरहेका पुस्तकभन्दा केही पृथक लेख्ने प्रयास गरेको जानकारी गराएका छन् l उनले ३ सय ४४ पृष्ठको यो उपन्यास सन्देशमूलक रहेको र कथाको अन्त्य सकारात्मक भएको समेत समारोहमा बताएका छन् l ‘एउटा यात्राको गन्तव्यमा पुग्नका लागि मान्छेले कति कठिनाईहरुको सामना गर्नुपर्दछ भन्ने कुरा पुस्तकले अनुभूति गराउने छ’ उपन्यासकार डी. आर. ले भने l समारोहमा वक्ताहरुले उपन्यासमा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा भएको जानकारी गराउँदै पुस्तकमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोह बुलन्द गरिएको बिचार राखेका थिए l पुस्तकको नाम जस्तै कथावस्तु समेत ‘तिलस्मी’ भएको मत राख्दै समालोचकहरुले उपन्यासले आदर्श पात्र र समाजमा परिवर्तनको परिकल्पना गरेको समेत बताएका थिए l कार्यक्रम सुष्मा राईले संचालन गरेकी थिईन् l