सडक नाटकदेखि सिनेमासम्म श्रीदेव

सडक नाटकदेखि आफ्नो करिअर अघि बढाएका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय नमस्ते अल इन्टरनेशल ग्रुप प्रमोशनका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । अभिनेता भट्टराईले ब्रान्ड एम्बेसडर मार्फत वार्षिक पाँच लाख समेत पाउने भएका छन् ।

सानै उमेरदेखि रसिक स्वभावका भट्टराई कलाकारिताको मोहले तानेपछि उनले आफ्नो करिअरको सुरुआत सडक नाटकवाट गरेका हुन् । इलामको माई नगरपालिकामा जन्मिएका भट्टराई स्कुलको अध्ययन सकेपछि उच्च शिक्षा अध्ययनका लागि भारतको दार्जीलिङ छिरे । त्यहाँ आफूले सोचेको जस्तो नभएपछि अध्ययन र कलाकारितालाई अगाडि बढाउन भट्टराई काठमाडौं हानिएका थिए ।

मनमा ठूलो कलाकार बन्न चाहना भएपनि आफ्नो पहुँच नभएको कारण सडक नाटकबाटै अभिनय यात्रा सुरु गरेका भट्टराईले यस क्षेत्रमा आजको दिनसम्म आईपुग्न निक्कै ठूलो सङ्घर्ष गरेका छन् । पहिले पहिले काठमाडौं भनेपछि प्रायः मानिसलाई एकपटक जान पाए,  राजधानीजस्तो ठूलो शहरमा केही राम्रो गर्न पाए जीवनमा केही होला कि भन्ने आशा हुन्थ्यो । तर, काठमाडौं कस्तो हुन्छ भन्ने पहिले नै कल्पना गर्न भने कसैले सक्तैनन् । श्रीदेवलाई पनि त्यस्तै नै भयो ।

सामान्य परिवारमा जन्मिएका उनलाई राजधानी खाल्डो छिरेपछिका दिन निकै सङ्घर्षमय रह्यो । उनी विगतबारे भन्छन्, ‘नचिनेको ठाउँ, राजधानीमा गएर आफन्तकहाँ नै बस्दा केही सहज होला कि भन्ने सोचेर बसेको थिएँ तर झनै गाह्रो भयो । दिनभर पसलमा काम गरेर साँझ सबैले खाएको जुठा भाँडा मस्काउन पर्थ्यो’ भट्टराईले आफ्नो अनुभव सुनाए । सुरुमा आफन्तकै सहराले अध्ययनसँगै कलाकारितामा पनि अघि बढ्न सक्छु कि भन्ने उनलाई लागेको थियो  । तर आफन्तले नै दुःख दिएको पीडा उनले भावुक बन्दै सुनाए ।

उनले राजधानी छिरेको करिव सात वर्षसम्म उच्च शिक्षा हासिल गर्न नसकेको दुखेसो पोखे । ७ वर्षसम्म उच्च शिक्षा हासिल गर्न नसकेका उनले सिन्धुलीबाट प्लस टु पास गरेपछि मिडिया क्षेत्रको मोहले तान्दै लगेको सुनाए । इसिआर एफएममा प्राविधिकको रूपमा काम गर्न थाले । भट्टराईले मिडियामा जागिर त खाए तर भनेको समयमा तलब नपाउँदा गुजारा चलाउन धेरै कठिनाई भएको बताए । सबैभन्दा बढी रुचि कलाकारिता एवं अभिनय भएकाले त्यही समयमा गायिका माण्डवी त्रिपाठी र अनिल विरहीको आवाजमा रहेको गीतको भिडियोमा अभिनय गर्ने मौका पाए । त्यही गीतले उनलाई कलाकारितामा अगाडि बढाउन महत्वपूर्ण सहयोग गर्यो । त्यसपछि २०६० सालमा हरि उदासीद्वारा निर्देशित  चलचित्र ‘भाइमारा’ मा पनि उनले  चर्चित कलाकार सुशील क्षेत्री, दिनेश शर्मा अनि गरिमा पन्तसँग अभिनय गर्ने अवसर पाएका थिए ।

अभिनयको भोकले भट्टराईलाई भारतको मुम्बईसम्म पनि पुर्यायो । उनले त्यहाँ चलचित्र सम्बन्धी तीनवर्ष तलिम  लिएको सुनाए । तीन वर्षको तालिम पश्चात भारतीय चलचित्रमा पनि अभिनय गर्ने सोच आफूमा रहेको सुनाउँदै भने- ‘कसैको साथ, समर्थन र आर्थिक अभावले मैले त्यहाँ आफूलाई उभ्याउन सकिन ।’ त्यसपछि उनी नेपाल फर्किए । अनि  मुम्बईबाट फर्किए लगत्तै भट्टराईले  पढाईसँगै नेपाली चलचित्र ‘वनबास’ मा मुख्य नायकको भूमिकामा अभिनय गर्ने अवसर पाए । २०६३ मा उनको निर्माता श्याम कार्की र निर्देशक भविन्द्र तामाङसँग भेट भएपछि चलचित्र ‘न्यु जेनेरेशन’ मा डबल रोलको भूमिकामा अभिनय गर्ने अवसर पाए । उक्त चलचित्रमा अभिनेत्री अनु शाह र ममता प्रधानसँग उनले अन स्क्रिन जोडी भएर काम गरे ।

चलचित्र क्षेत्रमा भट्टराईले पाएको सफलतासँगै बिभिन्न चलचित्रमा माग बढ्न थाल्यो । यसैगरी उनी सञ्चारकर्मी भरत बमजन, नवराज लम्साल र लोकमणि सापकोटाको सहयोगले रेडियो नेपालबाट प्रसारण हुने नाटकमा समेत काम गर्न थाले । नेपाली गाउँघरमा उनले स्वराभिनय गरेको नाटकको निकै राम्रो तारिफ छ ।  चाहे शहर होस् या गाउँ हरेकको मनमा उनी छाएका छन् । आफूमा जति पीडा भएपनि उनले कलाक्षेत्र छोडेनन् । हरपल अघि बढिरहे । कलाक्षेत्रमा भट्टराई अनुशासित नायकका रुपमा चिनिन्छन् र यस क्षेत्रलाई सम्मान पनि गर्छन् ।  यदि कसैले चलचित्र एवं कला क्षेत्रको बारेमा नराम्रो कुरा गर्यो भने भट्टराईले त्यसको कडा विरोध गर्दै कला क्षेत्रको सम्मान गर्न सम्झाउने गरेका छन् ।

भट्टराई खतरनाक दृश्य भएका चलचित्र खेल्न मन पराउने स्वभावका छन्  । उनले खेलेको न्यु जेनेरेशन नामक चलचित्रले उनलाई राम्रो कमाई गर्ने बाटो बनायो र बिदेशमा चलचित्र राम्रोसँग चल्यो । यो देखेर निर्माताले उनलाई धन्यबाद दिए र उनले भनेको भन्दा बढी पारश्रमिक दिए । उनको खुशीको सिमा रहेन ।

निर्देशक माधवराज खरेलले मानव सभ्यताको सुरुआती अवस्थालाई जाहेर गर्ने उद्देश्यले निर्माण गरेको चलचित्र ‘ढुङ्गे युग –२’ मा महँगो पारिश्रमिक दिएर अभिनय गराएपछि यो क्षेत्रबाट आफ्नो जीवनशैली नै फेरिएको भट्टराईले बताए । उनले निर्देशक खरेलको नाम निकै सम्मानका साथ लिने गरेका छन् । त्यसपश्चात् उनले चलचित्र छल, चाल, ढुंगेयुग –२, बिरानो माया, कुईनेटो, सुकुलगुण्डा लगायतका चलचित्रमा काम गरे । त्यस्तै, करिव पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेको पनि उनले जनाकारी दिए ।

नेपालका चर्चित गायक – गायिकाहरुको गीत र चलचित्र खेलेका उनी एक परिपक्व कलाकारको रुपमा चिनिन्छन् । भिडियो वा चलचित्रबाट आफूले प्राप्त गरेको पारिश्रमिकको आधा जति रकम समाजसेवामा खर्चने गरेको समेत उनले बताए ।

उनले चलचित्र, म्युजिक भिडियो र नाटक विधाबाट विभिन्न समयमा अवार्ड समेत पाउँदै आएका छन् । उनले मोडल सङ्स् नेपाल, पेजेन्ट नेपाल र ईनास दुबईको संयुक्त आयोजना दुबईमा सम्पन्न अवार्डमा चलचित्र विरानो मायाबाट उत्कृष्ट नायकको अवार्ड प्राप्त गरे भने मिडिया ईन्टरनेशनलको आयोजनामा सम्पन्न भएको क्यापिटल म्युजिक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड प्राप्त गरेका थिए । साथै उनले सगरमाथा म्युजिक अवार्डबाट उत्कृष्ट मोडल अन्तर्गत जुरी अवार्ड र म्युजिक खबर म्युजिक अवार्डबाट उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । यसैगरी उनले थाईल्याण्डमा सम्पन्न छायाछवि इन्टरनेशनल फिल्म एण्ड अनर अवार्ड लगायतका अवार्डहरु प्राप्त गरेका छन् ।

पछिल्लो समय भट्टराईलाई गीतकार सङ्घ नेपाल सम्मान, पेजेन्ट नेपाल सम्मान, नमस्ते अल ईन्टरनेशनल सम्मान, नेपाल कल्चरल फिल्म सम्मान, मिडिया ईन्टरटेनमेन्ट चलचित्र सम्मान, स्टार वान एक्सिलेन्स् अनर एण्ड अवार्ड लगायतका सम्मानहरु प्राप्त भएका छन् ।