डेढ दशकपछि पुनरागमन गर्दै ‘सिजन्स’ ब्याण्ड

कुनैबेला साङ्गीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल  हेटौंडाका सङ्गीतकर्मीहरुको साङ्गीतिक समूह ‘सिजन्स’ ब्याण्ड लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ ।

२०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बम मार्फत पुनः साङ्गीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दै छ । समूहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो ।

सिजन्स ब्याण्डमा छ जना सङ्गीतकर्मीहरु सक्रिय छन् । चलचित्रको पार्श्व गायन तथा पृष्ठभूमि सङ्गीत निर्माण व्यस्त भईरहेका सङ्गीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आवद्ध छन् । अर्का सदस्य चन्द्र लामा समूहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरुमा सङ्गीत संयोजन तथा पृष्ठभूमि सङ्गीत उत्पादनमा सक्रिय सङ्गीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । सङ्गीतकर्मी सञ्जय श्रेष्ठले बेस गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् ।

विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि धेरै लोकप्रिय छन् ।

समूहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । सिजन अर्थात ऋतु । समूहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ । जस अनुसार सङ्गीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै सङ्गीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ । ब्याण्डको नयाँ एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ ।

यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिबार चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण…’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकर्डले व्यवस्थापकीय साथ दिएको छ । ब्याण्डको नयाँ एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउँछन् । निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ ।

यस्तो छ ‘सिजन्स’ ब्याण्डको नयाँ म्युजिक भिडियो